काठमाडौंमा पहिलो पटक शान्तिका लागि धर्मगुरुहरुको कार्यक्रम
चैत्र २९ गते, २०७१ मा प्रकाशित
काठमाडौं । विश्वका ७० देशमा शान्तिका लागि काम गरिसकेको कोरियाली संस्था हेभेन्ली कल्चर वल्र्ड पीस रेस्टोरेसन अफ लाइट एचडब्लुपीएलले सबै धर्मग्रन्थमा समानता खोज्ने प्रयासस्वरुप हिजो काठमाडौंमा पहिलो पटक कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा सहभागी नेपालका विभिन्न धर्मगुरुहरुले सबै धर्मको मूल सार नै विश्व शान्ति र मानव कल्याण भएको भन्दै त्यसलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले कुनै पनि धार्मिक ग्रन्थमा हिंसालाई प्रश्रय नदिइएको भन्दै सबैले एक अर्काको धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा उनीहरुले आ-आफ्नो धर्ममार्फत शान्ति स्थापनामा सहयोग पु-याउने प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।
त्यस अवसरमा धर्म शान्ति प्रतिष्ठानकी अध्यक्ष इन्दिरा मानन्धरले सबै धर्मको सार शान्ति भएको भन्दै धर्मलाई कुनै ब्यक्ति वा समूहको स्वार्थमा प्रयोग गर्न नहुने बताइन ।
यस्तै, बहाईका धर्मगुरु नरेन्द्र पाण्डेले परमाणु बममा प्रतिबन्ध र शान्तिका लागि अन्तर्राष्ट्रिय महासन्धीहरुमा हस्ताक्षर गर्दैमा संसारमा युद्ध नरोकिने टिप्पणी गरे ।
एचडब्लुपीएलले गत सेप्टेम्बरमा दक्षिण कोरियाको सियोलमा आयोजना गरेको धार्मिक शान्ति सम्मेलनमा उपस्थित दुई हजारभन्दा बढी धर्मगुरुहरुले अन्तरधार्मिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा हिन्दु विद्यापीठका संस्थापक डा. चिन्तामणी योगीलाई एचडब्लुपीएलको प्रचार राजदूत नियुक्त गरिएको थियो ।
त्यस्तै युवाका तर्फबाट धर्मराज पाठक, संचारमाध्यमबाट इमेज च्यानलका रामप्रसाद दाहाल, हिमालय टेलिभिजनका नारायण अर्याललगायतलाई पनि एचडब्लुपीएलको प्रचार राजदूत नियुक्त गरिएको थियो । इमेजखबरमा समाचार छ ।