आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट गर्दै आशिर्वाद लिएर यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाइन्छ । यसदिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।
यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंशीका दिन काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भइ कुन्डमा दर्शन गरे आमा दिवंगत हुने छोरा-छोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ ।
स्वस्थानी ब्रत कथाअनुसार सो तीर्थमा सतीदेवीको अंग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकान्डबाट मृतआमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ । इमेजखबरमा समाचार छ ।