अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला पूर्ण साक्षर बनेको छ । ४३ हजार ४ सय ७४ घरधुरी घरधुरीका २ लाख ५७ हजार ५६ जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर समुहका ९७ प्रतिशत व्यक्तिले अंक र अक्षर चिन्न, लेख्न र पढ्ने भएपछि साक्षर जिल्ला घोषण गरिको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जानकारी दिए । निर्धारित समयमा नै जिल्ला पूर्ण साक्षर बन्न सफल भयो उनले भने, शिक्षा क्षेत्रमा जिल्लाले धेरै फड्को मार्न सफल भयो । उनले जिल्लाले मानव विकास सुचाङ्कमा पनि एक खुड्किलो पार गरेको बताए ।

६७-६८ मा सर्वेक्षण गरिए अनुसार कुल जनसंख्या मध्ये लक्षित उमेर समुहका २९ हजार ४ सय ८९ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका अनौपचारिक शिक्षा शाखाका माधव वञ्जाडेले जानकारी दिए । उनका अनुसार ६८-६९ सम्म आउँदा १६ हजार २ सय ९३ साक्षर बनि बाँकी निरक्षरको संख्या १३ हजार १ सय ९६ रह्यो । ६९-७० को निरक्षरहरुको विवरण संकलन गर्ने क्रममा ६७-६८ मा छुटेका अस्थायी आप्रावासनमा रहेका र अस्थायी आप्रावासनबाट फिर्ता भएका करिव १० हजार ३ सय ८६ गरी २३ हजार ५ सय ९२ जना निरक्षर थिए । ७०-७१ सम्म आउँदा बाँकी रहेका निरक्षर मध्ये २१ हजार १ सय ४७ साक्षर भए । अब जिल्लामा निरक्षरताको संख्या २ हजार ४ सय ४५ मात्र छ ।

विगतमा शिक्षा मन्त्रीको समेत जिम्मेवारी समेत सम्हालेका एमाओवादी संसदिय दलका उपनेता टोपबहादुर रायमाझीले जिल्लालाई एक कार्यक्रमका बीच देशको ८ औं पूर्ण साक्षर जिल्ला घोषणा गरे । घोषण सभामा बोल्दै उनले अर्घाखाँची जिल्ला नमूना जिल्लाको रुपमा परिणत भइसकेको बताए । सरोकारवाला निकायको निरन्तर मेहनतले जिल्ला साक्षर बनेको हो उनले भने, यसलाई सामान्य रुपमा लिनु हुँदैन । उनले भुकम्पबाट विद्यालयमा धेरै क्षति पुगेकाले विद्यालयको पुर्न निर्माणमा राज्यले ढिलाइ गर्न नहुने बताए । राजतीतिक प्रसङ्गमा उनले विपतको घडीमा राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको औंल्याए । उनले नयाँ सकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा टुङ्गो लागि नसकेको बताए । बाहिर आएको सबै हल्ला मात्रै हो उनले भने, कुन पार्टीको कस्ले सरकारको नेतृत्व गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

अनौपचारीक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका निर्देशक वावुराम पौडेलले घोषणा गरेर मात्र साक्षर अभियानले सार्थकता नपाउने बताए । उनले अहिले अक्षर चिन्न सक्नेले पनि छिट्टै विर्सन सक्ने भएकाले सघन शिक्षाका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । साक्षर घोषणा गरेका जिल्लामा आगामी आर्थिक वर्षबाट निरन्तर रुपमा साक्षरताका कार्यक्रम सञ्चालन गर्दै छौं उमेर ढल्केपछि अक्षर चिनेका प्रति संकेत गर्दै भने, तीन महिना आफूले जानेका कुरालाई नविर्सनुस्, साउनबाट सघन साक्षरताका कार्यक्रम सञ्चालन गछौं । उनले सबै कामको भेरिफिकेसन गरेर घोषणा गरेको यो पहिलो जिल्ला भएकाले यहाँ लक्षित उमेर समुहका सबै साक्षर भएको दावी गरे ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका निर्देशक वैकुण्ठ अर्यालले शैक्षिक विकासले अन्य विकासका मार्गलाई पनि फराकिलो बनाउने भएकाले यसलाई ठूलो अबसरको रुपमा लिनु पर्ने बताए । साक्षरताका कक्षा निरन्तर सञ्चालन गराइ जिल्लाको साखलाई उच्च बनाउनुपर्छ उनले भने, घोषणा गरेर मात्र छाडियो भने भोली जिल्ला निरक्षरताको अबस्थामा पनि पुग्न सक्छ । घोषणा सभामा जिल्ला स्थित सम्पूर्ण विद्यालका शिक्षक, विद्यार्थी र सरोकारवाला संघ संस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, स्थानीय विकास अधिकारी हरि प्रसाद ज्ञवाली, नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, एमालेका कार्यवहाक अध्यक्ष जीवनारायण कोइराला, एमाओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अमर थापा, परिवार दलका डिल्लीराज भुसाल, जनमुक्ति पार्टीका टोपबहादुर बलाल, सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्वासे, नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भुसाल, विद्यालयको तर्फबाट जनज्योति उमाविका प्राचार्य दिनानाथ आचार्य, सामुदायिक अध्ययन केन्द्रको तर्फबाट माधव पौडेल, लगायतले बोलेका थिए ।