काठमाडौं । चालु आर्थिक वर्ष २०७१/७२ को वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति लक्ष्यअनुसार ७ प्रतिशतको हाराहारीमा नै रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा वैशाखमा मूल्यबृद्धि ७.१ प्रतिशत रहेको जनाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा वार्षिक बिन्दूगत आधारमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य बृद्धिदर ८.९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांकको बृद्धिदर ५.४ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १६.२ प्रतिशतले बृद्धि भइ ३०८ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च साढें २२ प्रतिशतले बृद्धि भई २६५ अर्ब ४१ करोड पुगेको थियो ।
समीक्षा अवधिमा चालू खर्चको बृद्धिदर उल्लेख्य रुपले कम भएका कारण कुल खर्चको बृद्धिदर अघिल्लो वर्षभन्दा केही कम भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालू खर्च ४.१ प्रतिशतले बृद्धि भइ २२२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २८.३ प्रतिशतले बृद्धि भएको थियो ।
समीक्षा अवधिमा पूँजीगत खर्च १८.० प्रतिशतले बृद्धि भइ ३६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३७.४ प्रतिशतले बृद्धि भएको थियो ।
आर्थिक वर्ष २०७१/७२ को १० महिनासम्ममा कुल वस्तु निर्यात ५.५ प्रतिशतले घट्न गइ ७० अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १८.६ प्रतिशतले बढी ७५ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात ८.१ प्रतिशतले बढेर ६२८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.७ प्रतिशतले बृद्धि भइ ५८० अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा सुन, सुपारी, कोइला, कच्चा भटमासको तेललगायतका वस्तुहरुको आयात घटेका कारण समीक्षा अवधिमा समग्र आयातको बृद्धिदर कम रहन गएको जनाइएको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बृद्धि भइ ५५७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २८.० प्रतिशतले बढेकोे थियो । इमेजखबरमा समाचार छ ।