एमाले निकट नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशव विष्ट राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव नियुक्त
आषाढ़ १० गते, २०७२ मा प्रकाशित
काठमाडौं, आषाढ १० । एमाले निकट नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्ष केशव विष्ट राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव नियुक्त भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद बोर्डका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विहीबार विष्टलाई सदस्यसचिव नियुक्त गरेका हुन् ।
बोर्ड अध्यक्षको हैसियतले मन्त्रीले खेलकुद संघहरु तर्फबाट शेपाक ताक्रोका विष्ट, पौडीका राजेन्द्र श्रेष्ठ तथा फुटबलका समिम उल्लाहलाई सदस्यमा नियुक्त गरेका हुन् ।
यिनै सदस्यहरुमध्येबाट इटहरीका विष्टलाई सदस्यसचिवको जिम्मेवारी दिइएको हो । नेपाल खेलकुद महासंघका कार्यबाहक अध्यक्ष विष्टले यसअघि पूर्वान्चल क्षेत्रीय खेलकुद विकास समितिमा बसेर काम गरेका थिए ।
विष्टले खेल संघहरुभित्रको विवादले समग्र नेपाली खेलकुदको विकास हुन नसकेको भन्दै खेलकुदभित्रको विवाद अन्त्य गर्न विशेष भूमिका निर्वाह गर्ने दाबी गरे ।
सम्बन्धित व्यक्ति तथा सरोकारवाला निकायहरुसँग छलफल गरेर केही दिनमै आफ्नो ४ वर्षे कार्यकालमा नेपाली खेलकुदको विकासका लागि कार्ययोजना अघि सार्ने पनि विष्टले जानकारी गराएका छन् ।
आफ्नोसामु थुप्रै चुनौतीहरु भए पनि चुनौतीलाइ पन्छाउदै अघि बढ्ने नवनियुक्त सदस्यसचिव विष्टको दाबी छ । इमेजखबरमा समाचार छ ।