सुनसरी/पर्वत, श्रावण ४ । साउने सोमबारको अवसरमा सुनसरीको धरान स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने भक्तजनहरुको घुइचो लागेको छ ।
सोमबारबाट सुरु भएको साउने बोलबम मेलाको अवसरमा पिण्डेश्वर बाबाधामको शिवलिङमा जल चढाउन देशका विभिन्न जिल्ला र भारतबाट भक्तजनहरु आएका छन् ।
प्रत्येक साउने सोमवारका दिन सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउंदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ धरानमा बोलबम मेला लाग्ने गर्दछ ।
उता, पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको गलेश्वरमा पनि सोमबार विहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ । साउने सोमबारकै अवसरमा पर्वतका विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पनि भक्तजनहरुको घुँईचो लागेको छ ।
सदरमुकाम कुश्माबजार नजिकै रहेको गुप्तेश्वर गुफा, छिमेकी गाविस कटुवाचौपारीमा रहेको अलपेश्वर गुफा, दक्षिण पर्वतको शालिग्राम शिला, स्याङजा र कास्कीको सिमानामा रहेको पञ्चासे, छायाँक्षेत्र मन्दिरलगायतका शिवालयहरुमा भक्तजनहरुको घुँईचो लागेको हो ।
उता, जनकपुरको कपिलेश्वर, जलेश्वर, सिरेश्वर र कलानेश्वर महादेवको मन्दिरमा पनि जल चढाउने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।
यसैगरी, अर्घाखांचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा पनि सोमबारदेखि एक महिने धार्मिक साउने मेला सुरु भएको छ । इमेजखबरमा समाचार छ ।