अर्घाखाँचीका सम्पुर्ण गाविसमा विश्व स्तनपान सप्ताह मनाईयो

प्रेमनारायण आचार्य 



सन्धिखर्क, अर्घाखाँची २३ साउन । विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता मनाइदै आइएको  विश्व स्तनपान सप्ताह अर्घाखाँचीका सबै गाविसमा  पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । 

 


अर्घाखाँचीको किम्डाँडा स्वास्थ्य चौकीले आयोजना गरेको  स्तनपान सप्ताहको अबसरमा भएको कार्यक्रमका सहभागी ।

 

बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरूको बारेमा कार्यक्रममा जानकारी गराइएको किमडाडा स्वास्थ्य चौकीका प्रमुख मुमाराम भुसालले बताउनु भयो ।  



जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरू गरी हरेक वर्ष अगष्टको पहिलो साता   विश्व स्तनपान सप्ताह मनाइदै आएकोमा केहि बर्ष अघि देखि नेपालमा पनि स्वास्थ्य मन्त्रालय मातहतका कार्यलय र स्वास्थ्यको क्षेत्रमा काम गर्ने संघ सस्थाको पहलमा मनाइदै आइएको हो । 



हरेक वर्ष छुट्टा छुट्टै विषयवस्तुलाई लिएर स्तनपान सप्ताह मनाउने क्रममा यस वर्ष स्तनपान र काम यसलाइ सफल पारै  भन्ने मूलनाराका साथमा मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँची, जिल्लाका प्राथमीक स्वास्थ्य केन्द्र ,  स्वास्थ्य चौकीको आयोजना र युएस्एड् सुआहारा अर्घाखाँचीको सहयोगमा जिल्लाका सबै गाविसमा विशव स्तनपान सप्ताह मनाइएको छ । 

 



अर्घाखाँचीको खाँचीकोट स्वास्थ्य चौकीले आयोजना गरेको  स्तनपान सप्ताहको अबसरमा भएको कार्यक्रमका सहभागी ।

 

बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैर्स्र्गिक अधिकार हो। शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुधमात्र खुवाए पुग्दछ । शिशु जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्रैमा स्तनपान गराउनाले शिशु शारीरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरू पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रूपमा पनि लिइने गरिएको डिभर्ना स्वास्थ्य चौकीका प्रमुख पुर्ण प्रसाद पराजुलीले बताउनु भयो । 



   कतिपय ठाउँहरू तथा समुदायमा अझै पनि जनचेतनाको कमिले गर्दा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनी, घिउ आदि जस्ता खानेकुराहरू खुवाउने चलन रहेको छ। यस्ता किसिमका खानेकुराहरू खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । आमाको सुरुको विगौतीदुध फाल्ने चलन पनि रहेको छ। सुरुमा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरू पाइने हुँदा विगौतीदुध नवशिशुलाई अनिवार्य रूपमा खुवाउन जरुरी रहेको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक लिलाराम गौतमले जानकारी दिनु भयो  । 



 ६ महिनासम्म शिशुलाई आमाको दुधमात्र खुवाई सकेपछि शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्ने हुन्छ। शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरूको साथमा आमाको दुध पनि खुवाउनु जरुरी रहेको स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको सुआहारा कार्यक्रमका जिल्ला संयोजक दिबस ढकालले बताउनु भयो ।   यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास छिटो हुनुमा मद्दत पुग्दछ।



नेपालको जनसांख्यीक सर्भेक्षण २०११ को तथ्यांक अनुसार शिसु जन्मेको १ घण्टा भित्र स्तनपान गराउनेको संख्या ४५ प्रतिसत  छ । शिसु जन्मेको एक दिन भित्र स्तनपान गराउनेको संख्या ८५ प्रतिसत छ । शिसुलाई ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ७० प्रतिसत छ शिसुलाइ कहिले पनि स्तनपान नगराएको भने १ प्रतिसत छ । 



 विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुधबाहेक अन्य खानेकुराहरू बच्चालाई खुवाउनु हुँदैन । स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्षसम्म लगातार स्तनपान गराएमा बच्चा फूर्तिलो हुने साथै ६ महिनापछि खुवाइने थप खानाले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ । 



  जसबाट विश्वव्यापी प्राथमिक शिक्षाको लक्ष्य प्राप्त गर्न स्तनपानले सहयोग गर्दछ। स्तनपानले लैगिक  समानतालाई पनि प्रवर्द्धन गर्दछ। बच्चालाई दुध खुवाउने महिलाको एउटा छुट्टै अधिकारको रूपमा पनि लिइन्छ। बच्चाको मृत्युदर घटाउने  पनि स्तनपान सप्ताहको लक्ष्य हो । यदि  बच्चाको स्याहार सुसार तथा स्तनपान राम्रोसँग गराइयो भने बच्चाको ज्यान गुमाउने खतराबाट जोगाउन सकिन्छ । 



आमाको दुध बच्चामा खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर कम हुने, पाठेघरको क्यान्सर कम हुने देखिन्छ। त्यसैगरी स्तनपानले जन्मान्तरको लागि पनि काम गर्ने हुँदा आमाको स्वास्थ्य राम्रो बनाउन मदत गर्दछ ।  जसले गर्दा  महामारीको रूपमा रहेको एच.आइ.भी. एड्स को भाइरस पनि पूर्ण रूपमा एआरटी को साथमा १ वर्षसम्म दुध चुसाउँदा आमाबाट बच्चामा सर्ने जोखिम कम हुने पाइएको छ ।

 

जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ। 

अन्य समाचारहरु