एसीसी अण्डर नाइन्टिन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
अफगानिस्तानले नेपाललाई १० विकेटले पराजित गरेको हो । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोलीले खराब ब्याटिङ गर्दै ४७ दशमलब ५ ओभरमा अलआउट हुनु पूर्व १ सय २३ रनको झिनो योगफल तयार गरेको हो ।
१ सय २४ रनको झिनो विजयी लक्ष्य लिएर ब्याटिङ शुरु गरेको अफगानिस्तानले २५ ओभरमा विना विकेट क्षति १ सय २७ रन बनाउँदै जित हात पारेको हो ।
अफगानि बलहरु सामु निरीह देखिएका नेपाली ब्याट्सम्यानहरुले खेलमा निकै खराब सुरुवात गरेका थिए ।
नेपाली टोलीले मात्र ४ रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको थियो । नेपालका लागी ओपनर सुनिल धमलाले ४६, योगेन्द्रसिंह कार्की र प्रदिप तामाङले समान २० तथा दिपेन्द्रसिंह ऐरिले १० रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्क छुन सकेनन् ।
सहभागी सबै ६ टोलीले राउण्ड रोबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा शीर्ष ३ स्थान ओगट्न सफल राष्ट्र अन्डर नाइन्टिन एसिया कपका लागी छनोट हुने छन् ।
शुक्रबारदेखि मलेसियामा सुरु भएको प्रतियोगितामा युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले बिजयी सुरुवात गरेको थियो । इमेजखबरमा समाचार छ ।