धार्मिक प्रतिनिधि मण्डलबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो, धर्मनिरपेक्षता कुनै पनि हालतमा अमान्य हुने

काठमाडौं,  भाद्र २० । अब बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र कै रूपमा सम्बोधन गर्नुपर्ने मागसहित सन्त-स्वामी गुरु र धार्मिक क्षेत्रका प्रतिनिधिहरूको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापन पत्र बुझाएको छ । 
मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्य, हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती, जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, स्वामी पद्मधराचार्य, व्यासाचार्य किशोरकुमार गौतम, राष्ट्रिय धर्मजागरण अभियानका केन्द्रीय संयोजक सन्तनेता शङ्करप्रसाद पाण्डे, हिन्दूराष्ट्र रक्षा महाअभियानका महासचिव एल.पि.भानु शर्मालगायतका पदाधिकारीहरू, विश्वहिन्दू महासंघ राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, सत्मार्ग अभियान नेपालका बौद्धिक प्रमुख जनार्दन घिमिरे, संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदी, सोही मोर्चाका सह-संयोजक एवम् राष्ट्रवादी मुस्लिम मञ्च नेपालका केन्द्रीय अध्यक्ष बाबु खाँ पठान, जनजाति-आदिवासी संगठनका महामन्त्री प्रेम थुलुङ्ग लगायतका व्यक्तित्त्वहरूको सो प्रतिनिधि मण्डलले प्रधानमन्त्री आवास बालुवाटारमा आइतवार सो ज्ञापन पत्र बुझाएको हो ।  
हिन्दूराष्ट्र रक्षा महाअभियानका महासचिव एल.पि. भानु शर्माले ज्ञापन पत्र वाचन गरे पछि संयुक्त रूपमा सो पत्र प्रधानमन्त्रीलाई बुझाइएको थियो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आफूहरूले सबैको मागलाई मध्यमार्ग अप्नाएर सम्बोधन गर्न खोजेको धारणा राख्नुभएको थियो । 
सो क्रममा स्वामी कमलनयनाचार्य महाराजले धेरै तर्फबाट हिन्दूराष्ट्र उल्लेख गर्नुपर्ने कारणहरू दर्शाउनु भएको थियो । धर्मनिरपेक्षताको बहानामा विदेशीहरूले नेपालमा गृहयुद्ध गराउन चाहेको तर्फ सरकार चनाखो हुनपर्ने, कुनै पनि हालतमा धर्मनिरपेक्षता गराएर गृहकलह गराउन नहुने जस्ता सल्लाह दिँदै धर्मनिरपेक्ष गरायौ भने भोट माग्न नआउनु भन्ने जनताको भनाई रहेको छ स्वामी कमलनयनले  पार्टीहरूको लागि जनताको तर्फबाट सन्देश व्यक्त गर्नु भयो ।   
स्वामी ज्ञानानन्द सरस्वती महाराजले ॐकार परिवारको हिन्दूराष्ट्र कायम गर्न गरिएको शान्तिपूर्ण आन्दोलनको नेतृत्त्व अहिलेसम्म धर्माचार्य गुरुहरूले गरिरहेको र सन्त गुरुहरूको शान्तिपूर्ण तथा शालिन सल्लाह सुझावलाई सरकारले नसुन्ने तथा वेवास्ता गर्ने हो भने यो मुद्धाको आन्दोलन अब जनताले-समाजले स्वतः स्फूर्त रूपमा गर्ने छ । त्यो बेला के हुन्छ ? त्यसको जिम्मेवारी हामीले  होइन सरकारले लिनुपर्ने हुन्छ, भन्नु भएको थियो । स्वामी ज्ञानानन्दले यही माग गर्दै युवाहरूको आमरण अनसन शुरु भईसक्यो, यसरी यही क्रमले युवाहरू उठे भने के हुन्छ ? प्रधानमन्त्रीसँग प्रश्न गर्नु भयो । अगाडि स्वामी ज्ञानानन्दले माग सुनिदैन भने प्रजातन्त्र त भएन, प्रजातन्त्र त नेपालमा आएको रहेनछ भन्ने बुझ्न पर्यो र प्रजातन्त्रको फेरि लड्नु पर्यो हैन ? प्रश्नको शैलीमा प्रधानमन्त्रीलाई मार्गदर्शन गर्नु भयो । यदि यसरी शान्तिपूर्ण ढङ्गका मागहरूलाई सम्बोधन गर्न सरकार, राजनीतिक पार्टीहरूले हिच्किचाउँछन् भने नेतृत्त्व वर्ग गाऊँ जान कठिन हुनेछ ख्याल गर्नु होला, स्वामी जीले खबरदारी पनि गर्नु भयो ।    
यसै गरी बालसन्त मोहनशरण देवाचार्य, व्यासाचार्य किशोर गौतम, पद्मधराचार्य समेतले हिन्दूराष्ट्रको लागि वचनबद्ध हुन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो । सन्तनेता शङ्करप्रसाद पाण्डेले नेपाली काँग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिन सकेन भने आफूलगायतले पार्टी छाड्ने समेत चेतावनी दिनु भएको थियो । 
मुस्लिम समुदायको पनि अधिकार सुनिश्चित गर्दै हिन्दूराष्ट्र कायम गर्नुपर्ने बाबु खाँ पठानको धारणा रहेको थियो । नेपालबाट मक्कामा हज गर्न प्रतिवर्ष पन्ध्रसय मस्लिमहरू जाने गरेको, हिन्दूराष्ट्रबाट आफूहरू आएको भन्दा छुट्टै सान र सम्मान मिल्ने गरेको खाँले बताउनु भयो । सो सँख्यामा कटौति गर्न नहुने पनि उहाँको भनाई थियो । 
यसै गरी प्रेम थुलुङ्गले धर्मनिरपेक्षताको सबैभन्दा ठूलो असर जनजाति आदिवासी र दलित समुदायमा परेको, जसले गर्दा जनजाति आदिवासी र दलितको मौलिकता नै गुम्ने खतरा भएको बताउनु भयो । यसै गरी डा. रामचन्द्र अधिकारीले अन्य स्वार्थ भन्दा सबै भन्दा ठूलो स्वार्थ राष्ट्रिय स्वार्थ हुने र त्यो भनेको विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचान रहेको विषयलाई विर्सन नहुने धारणा राख्नु भएको थियो । 
दीपक सुवेदीले धर्मको बारेमा निर्णय गर्दा धर्मक्षेत्रको रायविना गर्न नहुने तर्फ संकेत गर्दै नेपाली जनताको लागि धर्मनिरपेक्षता कुनै पनि हालतमा अमान्य छ, हिन्दूराष्ट्रको बारेमा निर्णय गर्न सरकार तथा सम्बन्धित पक्षलाई त्यस्तो कुनै कठिनाई परेको हो भने त्यसको बारेमा आवश्यक जिम्मेवारी तथा संवादको जिम्मा धर्मक्षेत्रलाई नै दिन अनुरोध गर्नु भएको थियो । सो भेट्को बीचमा पुग्नुभएका नेपाल सरकारका अर्थ मन्त्री रामशरण महतले प्रतिनिधि मण्डलका प्रतिनिधिहरूको  अभिव्यक्ति गम्भीरताका साथमा सुनिरहनु भएको देखिन्थ्यो ।  
हिन्दू युवाहरूको आमरण अनसन आज सातौं दिनमा 
काठमाडौंको खुलामञ्चमा चार जना हिन्दू युवाहरूले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोहत्या बन्द गर्नपर्ने, गौहत्या गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, धर्मपरिवर्तनमा प्रतिबन्ध लगाउनुपर्ने जस्ता सातसूत्रीय माग राखी आमरण अनसन बसेको आइतवार सात दिन पूरा भएको छ । अनसनकारी खेमनाथ आचार्य, सागर कटुवाल, प्रेमनिधि भारद्वाज र कमलप्रसाद जोशी घोडासैनीको स्वास्थ्यमा क्रमशः समस्या देखिन थालेको बताइएको छ । घोडासैनी तीनचार पटक फेन्ट भएको, खेमनाथ आचार्यको शरीरमा एलार्जिक समस्या देखिएको, सागर कटुवाललाई पटक पटक वमन भएको बुझिएको छ । चिकित्सकहरूले समय समयमा परीक्षण गरिरहेको अनसन कारी खेमनाथ आचार्यले बताउनु भएको छ । 
सो अनसनप्रति ॐकार परिवारका प्रतिनिधिहरूले समर्थन, एक्यबद्धता र प्रतिबद्धता जनाएका छन् । यसरी समर्थन जनाउनेहरूमा बुद्धधर्मको तर्फबाट बुद्ध लामा, मोहन लामा, यसै गरी शिख समुदायको तर्फबाट प्रितम् सिंह, किराँतबाट प्रेम थुलुङ्ग हुनुहुन्छ । विभिन्न धार्मिक गुरु सन्त एवम् स्वामी जीहरूको पनि समर्थन र शुभेच्छा एवम् आर्शिवाद रहेको बुझिएको छ । अनसनको संयोजन संस्था राष्ट्रिय धर्म जागरण अभियानका केन्द्रीय संयोज शङ्करप्रसाद पाण्डेका अनुसार स्वामी ज्ञानानन्द, बालसन्त मोहनशरण, स्वामी दीनदयाललगायतका थुप्रै साधुसन्त गुरु स्वामीहरूको आगमन भइसकेको छ । 
यसै गरी सो अनसन क्षेत्रमा सञ्चालन भइरहेको सभालाई शब्द चिन्तन संरक्षण मण्डलका प्रधान संरक्षक स्वामी दुर्गादास, गो तीर्थ मिसनका अध्यक्ष गोव्रती योगी सोमराज, बुद्ध लामा, सत्मार्ग अभियानका बौद्धिक प्रमुख जनार्दन घिमिरे, अहिंसावादी अभियन्ता डा. मोहन खरेल, चिकित्सक डा. रामप्रसाद उप्रेती, डा. देवीप्रसाद भुसाल, डा. लक्ष्मीकान्त पन्थी, वैद्यराज दीपक सुवेदी, संयुक्त सनातन मोर्चाका संयोजक डा. मिठाराम विश्वकर्मा, मुस्लिम समुदायबाट राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनबाट बसिर मियाँहरूले सम्बोधन गरिसक्नु भएको छ । भने राष्ट्रवादी मुस्लिम मञ्च नेपालका केन्द्रीय अध्यक्ष बाबु खाँ पठानले आइतवार सम्बोधन गर्दै हुनुहुन्छ । समर्थन र सम्बोधन गर्न देशका विभिन्न स्थानबाट वक्ताहरू आउनेक्रम जारी रहेको आयोजकले बताएका छन् ।