आज हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज हर्षोउल्लासका साथ मनाइदै

आज हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज पर्व हर्षोउल्लासका साथ मनाइदैछ । यस अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा महिलाहरुको भीड लागेको छ ।
 सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरु झिसमिसे बिहानीदेखि महादेव शिवको पुजाअर्चना गर्न काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध छन् ।
काठमाडौंमा महिलाहरु शिव मन्दिरमा पुगेका छन् । भगवानको आराधनासहित आजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् ।
हिन्दू नारीहरुको महान चाड तीजको दोस्रो दिन आज व्रत बसेर मनाईदै छ । अर्थात् सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तिजको व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गर्दछन् । भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।
तीजको दर खान विशेष गरी माइतीले छोरी-चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ । सरकारले महिलाका लागि आज बिदा दिएको छ । संचारमाध्यममा समाचार छ ।