मुस्लिम समुदायको महान चाड बकर ईद हर्षोल्लासका साथ मनाईंदै

मुस्लिम समुदायको महान चाड बकर ईद शुक्रबार हर्षोल्लासका साथ मनाईंदैछ । तीन दिनसम्म मनाइने यो पर्व इस्लाम धर्मावलम्बीले नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ ।
विश्वभरका मुसलमानहरुले इदुल फित्रको ७० औं दिनमा बकर ईद पर्व मनाउने गर्दछन् । इस्लामिक क्यालेन्डरअनुसार १४३६ हिजरी सालको अन्तिम महिना जिलहिजाको १० तारिखका दिन यो पर्व विश्वभरी मनाउने गरिएको हो ।
नेपाल सरकारले यस पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिई आज सार्वजनिक बिदा दिएको छ । आजका दिन मुसलमानहरुले इदुजोहाको नमाज पढेर घर आइसकेपछि खसी, भैंसी एवम् पाठीको बली चढाउँछन्, जसलाई कुरबानी भनिन्छ ।
धार्मिक ग्रन्थ कुरानका अनुसार अल्लाहका नवि इब्राहिम अलि सलामले ८० वर्षको उमेरमा आफ्नी पत्नी हजाराका गर्भबाट जन्मिएको छोरा इस्माईल अलि सलामलाई अल्लाहको आदेशमा कुरबानी दिन गएका थिए । तर अल्लाहले नवि इब्राहिम अलि सलामको यो कदमबाट निकै प्रसन्न एवं खुशी भई उनको कुरबानीलाई स्वीकार गरी छोरा इस्माईलको ठाउँमा भेडा कुरबानी गरिएको थियो ।
यसै दिनदेखि मुसलमानहरुले अल्लाहको आदेशलाई पालना गर्दै कुरबानी दिँदै आएका छन् । कुरबानीको मासु तीन भाग लगाइ एक भाग आफ्ना लागि, बाँकी दुई भाग इस्टमित्र र समाजका मानिसलाई बाँड्नु पर्ने तथा कुरबानी भएका जनावरको छालाको रकम मदरसालाई दिनुपर्ने धार्मिक मान्यता छ ।
यसैबीच राष्ट्रपति डा. रामवरण यादवले बकर इदका अवसरमा मुसलमान समुदायलाई शुभकामना दिँदै देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवं आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गरेका छन् । इमेजखबरमा समाचार छ ।