नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ । समितिका अनुसार दसैको टीकाको लागि कार्तिक ५ गते विहान १०:५५ को साइत उत्तम छ ।
तस्बिर: अक्टोबर २४, २०१२ बाट
घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए ।
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ ।