लाखौं रकम लिएर म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसहित ५ खेलाडी पक्राउ

 म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटवल टोलीका कप्तान सागर थापासहित ४ खेलाडीसहित ५ जना लाई महानगरीय प्रहरी अपराध मशाशाखाको टोलीले पक्राउ गरेको छ।  
 
थापासहित अन्जन केसी, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राईलाई बालुवाटार, थापाथली र जावलाखेलबाट पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीलाई जानकारी दिए।  संगठित रुपमा नै उनीहरुले लाखौं रकम लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गरेको पाइयो, उनले भने,  थप अनुसन्धान जारी छ।
 
राष्ट्रिय खेलाडी समेत रहेका अन्जन केसी फुटवल प्रशिक्षक पनि हुन् । उनी थ्रि स्टार क्लवसँग आबद्ध छन् । विकाससिंह क्षेत्री, रितेश थापा गोल किपर हुन् । सन्दीप राइ डिफेन्डर हुन । उनीहरुलाई अहिले महाशाखामा राखेर अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको अपराध उनीहरुले गरेका कारण पक्राउ गरिएको खनालले बताए ।
 
खेलाडी पक्राउबारे अखिल नेपाल फुटबल संघ एन्फाले भने अनविज्ञता प्रकट गरेको छ । 
करिब २ महिना अगाडिदेखि उनीहरुमाथि निगरानी थालिएको थियो । सागर २००९ देखि नेपाली टिमका कप्तान छन् । उनी थ्रीस्टार क्लबका पनि कप्तान हुन् । पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए।
२०११ मा भएको विश्वकप छनाैटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिदै अाएको थियो । अोमानमा भएको विश्वकप छनाैटको पहिलो लेगमा नेपाल मस्कटमा अोमानसँग ९-० ले पराजित भएको थियो । जबकि काठमाडाैंमा भएको दोस्रो लेगमा नेपालले १-१ को बराबरी नतिजा निकालेको थियो ।  कान्तिपुर / सेतोपाटीमा समाचार छ ।