म्याच फिक्सिङको आरोपमा पक्राउ परेका पाँच जना वर्तमान एवम् पूर्व राष्ट्रिय फुटबल खेलाडिलाई अदालतमा पेश गएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक प्रलोभनमा देशकै बेईज्जत गराउने कसुरमा यी खेलाडीमाथि राष्ट्रघातविरुद्धको ऐन अनुसार कारवाही अघि बढाइएको छ ।
प्रहरीले बुधबार राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् थ्रीस्टारका खेलाडी सागर थापा, थ्रीस्टारकै अर्का खेलाडी सन्दिप राई, नेपाल पुलिस क्लबका गोलरक्षक एवम् असई रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडिहरु अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
चार वर्षअघि विश्वकप छनोट प्रतियोगितामा जोर्डन विरुद्धको खेलमा ९ गोल खाएको नेपाली टोलीमाथि त्यतिबेलादेखि नै शंका गरिएको थियो ।
प्रहरीले त्यसयताका प्रायः सबै खेलमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका गरेको छ । खेलाडिहरुले दक्षिण कोरीयाको ईन्चोनमा सम्पन्न एसियाड खेलकुदको क्रममा समेत फुटबलतर्फका खेलहरु मिलेमतोमा प्रभावित पारेको स्विकारीसकेका छन् ।
यसबाहेक विभिन्न मैत्रीपूर्ण खेल, विश्वकप छनोट एवम् अन्य खेलहरुको क्रममा करोडौंका चलखेल भएको प्रहरीको ठम्याई छ ।
अन्तराष्ट्रिय बुकी अर्थात् दलालमार्फत यी खेलाडीहरुले मिलेमतो गर्ने गरेको पाइएको छ । सिंगापुर, दुबई, मलेसियालगायतका स्थानबाट विभिन्न बैंक एवम् रेमिट्यान्स कम्पनीमार्फत् फिक्सिङ बापतको रकम बुझ्ने गरेको तथ्य समेत पत्ता लागिसकेको छ ।
खेलाडीहरुले एउटा खेलको एक करोडसम्म लिएको प्रहरीको अनुमान छ । म्याच फिक्सिङको जालो निकै विस्तार भइसकेको प्रहरीको विश्वाश छ ।
पहिलो चरणमा खेलाडीमाथि छानबिन भइरहेको जानकारी दिँदै प्रहरीले यो प्रकरणमा अखिल नेपाल फुटबल संघ एन्फाका वर्तमान एवं पूर्व पदाधिकारीहरु समेत तानिन सक्ने बताएको छ । इमेजखबरमा समाचार छ ।