बडा दसैंको तेस्रो दिन अर्थात् आज आश्विन शुक्ल तृतीया तिथी । आज दसैंघर तथा देवीमन्दिरहरुमा माता चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदैछ ।
दसैंको तेस्रो दिन आश्विन शुक्ल तृतीया तिथीमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गर्ने गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।
चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मर्त्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ । चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।
चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी बृत्ती नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।
माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन् । गाउँघर तथा बस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ ।
काठमाडौंलगायत देशभरका शक्तिपीठहरुमा आज पनि भक्तजनको घुईंचो लागेको छ । इमेजखबरमा समाचार छ ।