आइसीसी यु-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पार्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
सोमबार अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी हुँदै जितको ह्याट्रिक गरेको हो । वर्षाले प्रभावित खेलमा डिएल मेथडका आधारमा नेपाल विजयी भएको हो ।
टस जितेर नेपालले ब्याटिङका लागि आमन्त्रण गरेपछि अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमै सबै विकेट गुमाएर १०९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभर पाँच बलमै लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि योगेन्द्र सिंह कार्कीले ५३ रन बनाए भने सुनिल धमलाले १७, शंकर रानाले १२ र सौरभ खनालले १६ रन बनाए ।
अमेरिकाको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेपालका बलर प्रेम तामाङले नौ ओभरमा ३१ रन खर्चिएर पाँच विकेट हात पारे । त्यस्तै आरिफ शेखले दुई तथा सुशील कँडेल र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
मलेसियामा जारी प्रतियोगिताको विजेता अर्को वर्ष बंगलादेशमा हुने आइसीसी यु-१९ विश्वकप क्रिकेटमा छानिने छ ।
नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले तथा दोस्रो खेलमा युगाण्डालाई १७१ रनले पराजित गरेको थियो । इमेजखबरमा समाचार छ ।