हिन्दूहरुको महान चाड बडादसैंको आज आठौं दिन अर्थात् महाष्टमी

हिन्दूहरुको महान चाड बडादसैंको आज (बुधबार) आठौं दिन अर्थात् महाष्टमी ।
आजको दिन दसैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तसती पाठ गर्ने परम्परा छ ।
घरघर र शक्तिपीठहरुमा शक्तिस्वरुप महाकालीको विशेष पूजा गरी महाष्टमी पर्व मनाइँदैछ । आज राति कालरात्रीको पूजा गर्ने चलन छ ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नास गर्ने ज्यादै शक्तिशाली भद्रकाली आजैका दिन उत्पन्न भएकी थिइन् ।
महाष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री आदि देवीहरुको पूजा आराधना गरिन्छ ।
पूजापछि बोका, कुखुरा, हाँस, राँगो आदि बली दिइन्छ भने मानिसहरु आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजा गरी बली दिने गर्दछन् । सात्विकहरुले नरिवल, कुभिन्डो, केरा, घिरौंला आदि फल अर्पण गर्दछन् ।
महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्री मानेर रातमा कालरात्रीको पनि पूजा गरिने प्रचलन छ । महाष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ । -इमेजखबरमा समाचार छ ।