RSS/FILE
विजया दशमीको आज टिका लगाउने दिन । विजया दशमीमा मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने चलन छ ।
आज टीकाको उत्तम साइत बिहान १० बजेर ५५ मिनेटमा परेको छ । देवी विसर्जनको साइत भने बिहान १० बजेर ४५ मिनेटमा छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ । घटस्थापनादेखि नौ दिनसम्म दशैंघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आज लगाउने प्रचलन छ । आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
घट्स्थापनाको दिनबाट थालिएको पूजा आराधना आज विधीपूर्वक विसर्जन गरिन्छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । विजयादशमीका दिन गरिने तलेजु भवानीको यात्राका लागि भने विहीबार बिहान ११ बजेर १ मिनेटको साइत र स्थिरासनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम छ । खड्ग यात्राको साइत पनि विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।
कोजाग्रत पूर्णिमा भने ९ गते मनाउनुपर्ने शास्त्रीय विधि रहेको पनि समितिले जनाएको छ । पूर्णिमा व्रत भने कार्तिक १० गते मंगलबार परेको छ ।
आकाशदीप दान र कार्तिक स्नान आरम्भ पनि कार्तिक १० गते नै सुरु गर्दा उत्तम हुने जनाइएको छ । नौ रात दश दिन अवधिको नवरात्र हुनपर्नेमा यसवर्ष भने आठ रात नौ दिन परेको हो ।