पाकिस्तानसँग इंग्ल्याण्ड ६ विकेटले पराजित

पहिलो एक दिवसीयमा पाकिस्तानले इंग्ल्याण्डलाई हराएको छ । मोहम्मद हाफिजले नटआउट शतकीय पारी खेलेपछि पाकिस्तानले इंग्ल्याण्डलाई ६ विकेटले हराएको हो । युएईको अबुधाबीमा बुधबार राति सकिएको खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य पाकिस्तानले ४३ दशमलव ४ ओभरमा मात्रै चार विकेटको क्षतिमा भेट्टायो । 
पाकिस्तानका लागि मोहम्मद हाफिजले नटआउट एक सय २, बाबर आजमले नटआउट ६२ तथा शोएब मलिकले २६ रनको योगदान दिए । 
इंग्ल्याण्डका रीस टोपलेले तीन तथा मोइन अलीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले दुई बल बाँकी हुँदा सबै विकेट गुमाएर दुई सय १६ रन बनायो । सुरुको १४ रन जोड्दा नै इंग्ल्याण्डको तीन विकेट गएको थियो । त्यसपछि इयान मोर्गन र जेम्स टेलरले एक सय ३३ रनको साझेदारी गर्दै पारी सम्हाले । मोर्गनले ७६ तथा जेम्स टेलरले ६० जोडे ।  
यस्तै क्रिस वोक्सले ३३ रन जोडेपनि जितका लागि पर्याप्त भएन । इंग्ल्याण्डका तीन जना ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् । पाकिस्तानका मोहम्मद इर्फानले तीन तथा अवर अली र शोएब मलिकले समान दुई दुई विकेट लिए । यस्तै यासिर शाहले एक विकेट लिए ।