छठ पूजाको मुख्य दिन मंगलबार साँझ तराईलगायत मुलुकभर छरिएर रहेका ब्रतालु जलाशय किनारमा पुगी बाँसको कोनिया, ढकनी र नांग्लोमा राखिएको ठेकुवा, भुसुवा एवं फलफुलसहित अस्ताइरहेको सूर्यलाई अर्घय दिन्छन् । यही प्रक्रियाले बुधबार बिहान उदाइरहेको सूर्यको पूजा गरेपछि यस पर्वको समापन हुन्छ ।
जलाशय किनारमा दुध र जलको अर्घय दिन साँझ बिहान ब्रतालु एवं परिवारजन बाहेक ठूलो संख्यामा श्रद्धालु जलाशय किनारमा उपस्थित हुन्छन् । लामो बन्दी र नाकाबन्दी एवं त्यसले बढाएको महंगीले समेत यस पर्वको तामझम उतिसारो असर परेको छैन । मोरङको विराटनगर, रंगेली, पर्साको वीरगन्ज, धनुषाको जनकपुर एवं झापाको भद्रपुरलगायत मधेसको जलाशय किनारलाई झकिझकाउ पारिएको छ । तराईभरका नदी, खोला र पोखरी किनारमा सोमबार साँझ साँस्कृतिक माहौल छ । लाउडस्पीकरबाट लोकगीत छठ गुञ्जिरहेको छ ।
आइतबार बिहान चोखिएर खाएपछि उपवास सुरु भएको हो । त्यसपछि एकै पटक सोमबार राति छठ परमेश्वरीलाई खिर, पुरी र केरा चढाएर उपासकले खरना मनाए । दुई दिनको आन्तरिक पूजाको समापछि मंगलबार साँझदेखि घाटको पुजा सुरु हुन्छ ।
विराटनगरमा उपासक एवं परिवारका अन्य महिलाले बिहानदेखि घरमा ठेकुवा र भुसुवालगायत सामग्री पकाउँदै पूजाको तयार गरिरहँदा पुरुष सदस्यहरु भने यहाँको चर्चित सिंघिया खोलामा मुख्य पूजाकालागि घाट व्यवस्थापन गरिसकेका छन् । केही बजारमा फलफुल किनिरहेका थिए । सोमबार साँझ र मंगलबार बिहानसम्म हुने ताजा फलफुलको किनमेललाई छठको अन्तिम बजारको रुपमा लिइन्छ ।
यहाँस्थि मेनरोड, गुद्री र धरान मार्गमा लागेको छठ पुजा सामग्रीको बजारमा सोमबार बिहानदेखि रातिसम्म भीड देखिएको थियो । बीच सडकमै लहरै पुजन सामग्रीको पसल राखिएको थियो ।