अब फिल्म हलमा अनिवार्य रुपमा राष्ट्रिय गीत बज्ने

नेपाली फिल्म हलमा अनिवार्य रुपमा राष्ट्रिय गीत बज्ने भएको छ। बुधबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा देशभरका सम्पूर्ण हलमा राष्ट्रिय गीत अनिवार्य रुपमा बजाउनु पर्ने नियम लागु भएको जानकारी गराए।
अवदेखि देशभरका सम्पूर्ण हलहरुमा राष्ट्रिय गीत अनिवार्य रुपमा बजाउनु पर्ने नियम लागु भएको छ। यो नियम अंग्रेजी, हिन्दी र अन्य भाषाका फिल्म प्रदर्शन भएको बेलाका लागि समेत लागु हुनेछ, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भने, देशभरका सम्पूर्ण हलहरुलाई १५ दिनभित्र नियम लागु गर्न जानकारी गराएका छौं । राष्ट्रिय गीत बजाउन चलचित्र विकास बोर्डले चलचित्र संघलाई टुके र एमपीइजी भर्सनमा राष्ट्रिय गीतको अडियो भिडियो प्रदान गर्नेछ।
कार्यक्रममा देशभरका मल्टिप्लेक्स हलहरुले निर्मातालाई प्रदान गर्ने शेयरसमेत बढाएको जानकारी गराइयो । फिल्म रिजिल भएको पहिलो हप्ता ५० प्रतिशत, दोश्रो हप्ता ४२.५ प्रतिशत, तेश्रो हप्ता ३७.५ प्रतिशत र त्यसपछि निर्माताले ३० प्रतिशत शेयर पाउने भएका छन् ।  फिल्म निर्माण गर्ने निर्माताहरुलाई प्रोत्साहन गर्न चलचित्र संघसँग नियमित अन्तक्रिया गरेपछि बुधबारबाट लागु हुने गरेर शेयर बढाएका हौं। सिंगल स्क्रिनमा भने यो नियम लागु हुनेछैन्।
चलचित्र विकास बोर्ड र चलचित्र संघको सम्झौता अनुसार निर्माताहरुले विभिन्न हलमा प्रोमो बजाएबापत दुई सातासम्म कुनै शुल्क नतिर्नुपर्ने भएको छ । बोर्डले हरेक वर्ष दुई नेपाली चलचित्रलाई विशेष फिल्मको सूचीमा राखेर विभिन्न महोत्सवहरुमा सहभागि गराउने भएको छ । त्यसको लागि विभिन्न कार्य बोर्डले गर्ने भएको छ । यसवर्ष  सुनपानी  र  १२ नेपाली एक चिहान विशेष सूचीमा समावेश भएका छन् । नागरिकन्युजमा समाचार छ ।