नेपालले बङ्गबन्धु गोल्डकप फुटबलको उपाधि जितेको छ। बंगलादेशको बगबन्धु रंगशालामा भएको फाइनलमा बहराइनको यू-२३ माथि ३-० को जित हात परेको हो। सेतोपाटीमा समाचार छ ।
नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे। खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन्। खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जित निश्चित पारे। नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो ।
यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो। नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो।
प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने
नेपाली राष्ट्रिय फुटवल टिमका प्रत्येक खेलाडीले ७-७ लाख पुरस्कार पाउने भएका छन्। बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटवलको उपाधि जितेसँगै अखिल नेपाल फुटवल संघ एन्फाले सात र राखेपले २-२लाख दिने घोषणा गरेका छन् ।
एन्फाले प्रशिक्षक बालगोपाल महर्जन र उपेन्द्रमानसिंहलाई पनि जनही ५-५ लाख दिने बताएको छ । दुई चिकित्सकले पनि ५ लाख पाउनेछन् । एन्फाले त्रिभुवन विमानस्थलमा नै खेलाडीको भब्य स्वागत गर्ने भएको छ।
बहराइनलाई पराजित गरि उपाधि चुमेपछि प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री कमल थापा र उनका भाई गणेश थापाले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् ।
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि राष्ट्रिय फुटवल टिमका खेलाडीहरुलाई बधाइ दिएका छन् । सेतोपाटीमा समाचार छ ।