यु-१९ विश्वकप क्रिकेटअन्तर्गत्ने भारतसँग नेपाल ७ विकेटले पराजित

यु-१९ विश्वकप क्रिकेटअन्तर्गत् समूहको अन्तिम खेलमा नेपाललाई भारतले ७ विकेटले हराएको छ ।
बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य भारतले १९औं ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
भारतको जितमा सुरुआती व्याट्सम्यान रिशव पन्तले २४ बलमा ७८ रनको योगदान दिए ।
१८ बलमा ५० रन जोडेका पन्तले यु-१९ क्रिकेटमा सर्वाधिक कम बलमा अर्धशतक बनाउने कीर्तिमान राखेका छन् ।
यसैगरी, अर्का सुरुआती व्याट्सम्यान इशान किसनले ४० बलमा ५२ रन जोडे ।
बलिङतर्फ नेपालका प्रेम तामाङले दुई तथा सन्दिप लामिछानेले एक विकेट लिए ।
नेपाली बलरहरुलाई सुरुदेखि नै दबाबमा राखेका भारतीय ब्याट्सम्यानहरुले विस्फोटक ब्याटिङ गरेका थिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
नेपालका लागि सुरुआती ब्याट्सम्यान सन्दिप सुनारले ३७ रन जोडे भने राजवीर सिंहले ३५ रन जोडे ।
यसैगरी, प्रेम तामाङले अविजित २९ रन जोडेको इनिङमा आरिफ शेखले २६ रनको योगदान दिए । बलिङतर्फ भारतका अभेस खानले तीन विकेट लिए ।
यो खेल जित्दै भारत समूह  डी को विजेता बनेको छ भने उपविजेता बनेको नेपाल पनि क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । – इमेजखबरमा समाचार छ ।