मुलुकभर होली पर्व प्रारम्भ

आज बिहान हनुमानढोका गद्दी बैठकको दक्षिणतर्फ बसन्तपुरमा तीन छत्रे चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ ।
परम्पराअनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।
तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याएका थिए । चीर उठाएको हेर्न बसन्तपुरमा विदेशी पर्यटकहरु समेत जम्मा भएका थिए ।
यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिएको छ । मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएको मुद्रामा श्रीकृष्णको मूर्ति र त्यसको दायाँबायाँ गरी नौ वटी अर्धनग्न अवस्थामा रहेकी गोपीनीहरुका मूर्ति लहरै राखी पूजा गरी अबीर छर्किइएको थियो । कान्तिपुरमा समाचार छ ।