नेपालमा रहेका जैन धर्मावलम्बीले जैन धर्मका प्रवत्र्तक ‘श्रवण भगवान् महावीर स्वामी’को दुई हजार छ सय १५ जन्म दिवस विविध कार्यक्रम गर्दै मनाएका छन् ।
जन्म दिवसका अवसरमा नेपाल जैन परिषद्, भगवान् जैन निकेतनले आज यहाँ गरेको कार्यक्रमका वक्ताले भगवान् जैनबाट सबैले अहिंसा, संयमता, तर्कसङ्गत लगायत प्रेरणा लिनुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले धार्मिक सहिष्णुतामा जोड दिँदै भने – शान्ति, सद्भाव, प्रेम मानवतावाद, संस्कृति, समानता र आर्थिक रुपमा समाजिक न्याय नै धर्म हो ।
उनले एक सय २५ भन्दा बढी जातजाति भएको देशमा सबैलाई बिदा दिँदा काम गर्ने दिनै नरहने हुनाले जुन समुदायको चाडपर्व आउँछ, उसैलाई मात्र बिदा दिने विषय मन्त्रिपरिषद्मा लैजाने जानकारी दिए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले लगभग समान समयचक्रमा उस्तै अहिंसावादी दुई व्यक्तित्व जैन र गौतम बुद्ध जन्मिनु पूर्वीय गोलाद्र्धका लागि गर्वको विषय भएको बताए ।
जैन परिषद्का अध्यक्ष पुनम व्यासले सबै जाति जनजातिको चाड पर्वमा राष्ट्रिय बिदा दिए पनि जैन समुदायको पर्वमा नदिइएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । रासस