इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
कप्तान विराट कोहलीले शतक पुरा गरेपछि बैंगलोरले राइजिङ पुणे सुपर जाइन्टसलाई ७ विकेटले हरायो । पुणेले दिएको १ सय ९२ रनको लक्ष्य बैंगलोरले ३ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान कोहलीले ५८ बलमा १ सय ८ रन बनाए । कोहलीले ८ चौका र ७ छक्का हाने । अन्तिम २ ओभरमा २२ रन चाहिएको बेलामा १९ औं ओभरको अन्तिम दुई बलमा कोहलीले छक्का हानेका थिए । लोकेश राहुलले ३८ रन बनाए भने शेन वाट्सनले ३६ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुणेले अजिन्क्या रहाणेको ७४ रनको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । शौरभ तिवारीले ५२ रन बनाए पनि अन्य बाट्सम्यान चल्न सकेनन् । यो जितपछि ८ खेलबाट ६ अंक बनाएको बैंगलोर पुछारबाट दोस्रो स्थानमा छ । १० खेलबाट ६ अंक नै बनाएको पुणे एक स्थान माथि छ ।