आइपिएल : गुजरात पहिलो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा गुजरात लाइन्स विजयी भएको छ । जितपछि गुजरात शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको हो । कोलकाताले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य गुजरातले १८ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । 
गुजरातका दिनेश कार्तिकले २९ बलमा ५१, एरोन फिन्चले १० बलमा २९, ब्रेन्डन म्याकुलमले २४ बलमा २९ तथा डवेन स्मिथले १८ बलमा २७ रन बनाए । 
कोलकाताका आन्द्रे रुसेल, शकिव अल हसन, पियुष चावला र ब्राड हगले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले चार विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका लागि शकिव अल हसनले ४९ बलमा नटआउट ६६ तथा युसुफ पठानले ४१ बलमा नटआउट ६३ रन बनाएपनि हार टार्न सकेनन् । 
गुजरातका प्रविन कुमारले दुई विकेट लिए । ११ खेलमा सातमा विजयी र चारमा पराजित भएको गुजरात १४ अंकसहित शीर्ष स्थानमा छ । १० खेलमा ६ मा विजयी र चारमा पराजित भएको कोलकाता १२ अंकसहित तेस्रो स्थानमा झरेको छ ।