भावना घिमिरेद्वारा नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा

भावना घिमिरेले नेपाल क्रिकेट संघ (क्यान) को प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी छन् । नेपाली क्रिकेटको सर्वोच्च निकायको पहिलो प्रमुख कार्यकारीको जिम्मेवारी निभाएको २१ महिनापछि घिमिरेले अलग हुने निर्णय गरेकी हुन् । कान्तिपुरमा समाचार छ । 
यो व्यक्तिगत निर्णय होइन, मैले व्यावसायिक हिसाबमै यो निर्णय लिएको हुँ । व्यक्तिगत रूपमा सन्तुष्ट हुन नसकेपछि मैले छाड्ने निर्णय गरेको हुँ,  घिमिरेले  भनिन् । संघ बाहिर बसेर नेपाली क्रिकेटलाई सहयोग गर्न तयार रहेकी उनले जनाइन् ।
वैशाख १३ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई निलम्बन गरेको थियो । स्कटल्यान्डको इडिनबर्गमा जारी आईसीसीको बोर्ड बैठकले पनि यसलाई सर्वसम्मत अनुमोदन गरेको छ । घिमिरेले आफ्नो पद त्याग्नुको कारण पनि यसैतर्फ इंगित गरिन् ।
काम गर्ने माहोल भएन, अहिलेको स्थितिमा केही गर्ने स्थिति छैन । ६-७ महिनादेखि नेपाली क्रिकेटमा कुनै काम भएको छैन । काम गर्ने स्थिति नभएपछि पद ओगटेर बसिरहने पनि कुरा आउँदैन, घिमिरेले आफ्ना आलोचकतर्फ सोझ्याउँदै भनिन्,  केहीलाई म भएका कारण नेपाली क्रिकेट अघि नबढेको जस्तो लाग्छ भने अब निकासको बाटो खोलिदिएको छु ।