नेपाल टेलिभिजनको स्थापना हुनुभन्दा अघि
नै हास्य व्यंग्य प्रस्तुत गर्ने कलाकारहरू रंगमञ्चमार्फत लोकप्रिय भैसकेका थिए ।
नेपालमा हास्य व्यंग्य कलाकारहरूले जोडी बाँध्ने चलन पहिले देखिकै हो ।
वि.सं.२०१६ सालपछि राजपाल थापा र
ध्रुवरत्न हाडा (हाडापाल जोडी) लाई पहिलो जोडी मान्ने धेरै छन् । हुन त वि.सं.२०१६
सालदेखि भीमबहादुर थापा र हेमजंग पाण्डेले आर्मी क्याम्प भित्रैबाट (थापा र
पाण्डे) जोडी भएर हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गरेको पाइन्छ । त्यतिबेला
गुप्तसेन र मास्टर केशवको जोडी पनि लोकप्रिय मानिन्थ्यो । रामशेखर नकर्मी, कृष्ण
नापित र आशाकाजी ठकु सम्मिलित तीन जनाको जोडीले पनि त्यतिबेला चर्चा बटुलेको थियो
।
चलचित्र सिन्दूरमा गोपालराज मैनाली तथा
नक्कली अर्थात् वसुन्धरा भुसालको अभिनयबाट प्रभावित धेरैले उनीहरूलाई जोडीका रूपमा
स्वीकार गरे । यो जोडीले टेलिचलचित्र,
टेली श्रृंखला तथा चलचित्र आदिमा
पछिसम्म जोडीकै रूपमा काम गर्यो ।
वि.सं.२०३८ सालमा बैंकेश्वर शीर्षकको
प्रहसनबाट सहकार्य गर्दै आएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीमा परिणत
भए । यो जोडीलाई हास्यव्यंग्य क्षेत्रमा अहिलेसम्मै सबैभन्दा लामो समयसम्म सहकार्य
गर्ने जोडी मानिन्छ । आरोहणले वि.सं.२०४७ सालमा प्रस्तुत गरेको नाटक वनदेवीमार्फत
जोडी बाँधिएका खेम शर्मा र शिवहरि पौड्यालको जोडीले पनि सफलताका साथ १६ वर्ष पूरा
गर्यो तर खेम शर्माले अर्का हास्य कलाकार नारायण त्रिपाठीसँग जोडी बाँधेपछि शिव र
खेमको जोडी भूतपूर्व जोडीमा परिणत भयो ।
वि.सं.२०४९ सालमा पवन मैनालीले
बनाइदिएको शैलेन्द्र सिम्खडा र उज्ज्वल भण्डारीको जोडीले पनि स्टेज तथा गाईजात्रे
कार्यक्रमहरूमा पर्याप्त चर्चा बटुल्यो । किरण केसी र राजाराम पौड्यालको (किरा)
जोडी तीन चार वर्षसम्म राम्रै जमेको थियो तर राजाराम अमेरिका गएपछि एक्लिएका किरण
केसी वि.सं.२०६२ सालमा मलेसियाको एक कार्यक्रमदेखि शिवहरि पौड्यालसँग नयाँ जोडीका
रूपमा देखिए । वि.सं.२०५१ सालमा ट्वाक्क टुक्क
श्रृंखलामार्फत जोडी बाधेका जीतु नेपाल र दमन रूपाखेतीले पनि सानोदेखि ठूलो
पर्दासम्म तहल्का मच्चाए । यो जोडीले वि.सं.२०६५ सालमा आफूहरूबीच डिभोर्स भएको
घोषणा गर्यो ।
लोकप्रिय रेडियो कार्यक्रम रामविलास
धनियाँमार्फत सहकार्य प्रारम्भ गरेका दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी हास्य
श्रृंखला तितो सत्यश्रृंखलामार्फत फस्टाउँदै गयो । केदार घिमिरे र सीताराम
कट्टेलको (केसी) जोडी सुरुमा राम्रै जम्यो,
तर सीताराम कट्टेलले कुञ्जना घिमिरेसँग
विवाह गरेपछि केसी जोडी नाममा मात्र सिमित भयो । तीतो सत्यबाट बनेको रवि डंगोल
बेइमान तथा मञ्जु श्रेष्ठ बिजुली को जोडी हास्य टेलिश्रृंखला भुइँचालोसम्म
आइपुग्दा पूर्ण थापा सुब्बा दाजु र बेइमानको जोडीमा परिणत भयो ।
शेखर खनालसँग गाईजात्रा एल्वममा जोडीका
रूपमा सहकार्य गर्दै आएका शिव शंकर रिजाल जोगिन्दरले सुरेन्द्र केसी मुलासागसँग
जोडी बाँधेपछि शेखर केही समय दमनको जोडीका रूपमा देखिए । धुर्मुससंगको सहयात्रा
अघि नबढेपछि माग्नेबुढाले विल्सन विक्रम राईसंग लगनगाँठो कसे ।
हास्य श्रृंखला भद्रगोलवाट चर्चामा आएका
अर्जुन घिमिरे पाँडे तथा कुमार कट्टेल जिग्रीले पनि जोडीका रूपमा यात्रा तय
गरिरहेका छन् । नेपालकै पहिलो महिला हास्य जोडी पल्पसा डंगोल तथा अंशु महर्जनले
पनि राम्रै चर्चा बटुलेको छ भने ज्योति काफ्ले नक्कली बाबुराम तथा बिपना बस्नेत
हिसिलाको जोडी समय सन्दर्भ अनुसार दर्शकले मन पराएका छन् ।
श्रोत: कान्तिपुर साप्ताहिक



