चलचित्र घामपानी नायक दयाहाङ राईको जन्मदिन पारेर रिलिज हुने

हाल सिन्धुलीमा सुटिङ भइरहेको घामपानी नयाँवर्षको दिनमा रिलिज हुने भएको छ । दिपेन्द्र लामाद्वारा निर्देशित फिल्म दयाहाङ राईको जन्मदिन पारेर रिलिज गर्न लागिएको हो ।
दयाले केकी अधिकारीसँग पहिलोपटक जोडी बाँधेको यो फिल्मका निर्माता र वितरकबीच बुधबार भएको छलफलबाट रिलिज डेटको टुंगो लगाएको हो । नयाँ वर्ष दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर हो, निर्देशक दिपेन्द्रले भने, त्यही भएर यही दिन टुंगो लाग्यो । दयाको बर्थडे चाहिँ बोनस हुनेवाला छ ।
 
बाहुन युवती र तामाङ युवकबीचको अन्तरजातीय प्रेम विवाह र त्यसले पैदा गर्ने अफ्ठ्याराहरुलाई खोतलिएको फिल्ममा दयाहाङ फुर्वा तामाङको भुमिकामा छन्भने केकी उनकी प्रेमिका तारा शर्माको भुमिकामा ।
 
लामो समयदेखि फिल्म समीक्षा गर्दै आएका दीपेन्द्रले यही फिल्मबाट निर्देशनमा हात हालेका हुन् । यसअघि नागबेली  फिल्मको पटकथा समेत लेखेका उनले घामपानी को स्क्रिप्ट आफैंले लेखेका छन् ।
सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको र बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको निर्देशक लामाले जनाए । फिल्मका कार्यकारी निर्माता मणिराम पोखेरलका अनुसार तिहारअघि फिल्मको छायांकन सकाउने योजना छ ।
 
अन्तरजातीय प्रेमकथा भएपनि फिल्ममा नयाँ विषयबस्तु र तत्वहरु हुने निर्देशक लामाको दाबी छ । अहिलेसम्म नेपाली फिल्ममा अन्तरजातीय प्रेमकथा भन्नासाथ ब्राम्हण र दलितबीचको सम्बन्ध मात्रै सम्झने गरेको दावी गर्दै तामाङ र बाहुनबीचको सम्बन्धलाई नयाँ र बदलिएको सामाजिक आयामका साथ फिल्ममा समेट्न खोजेको उनले बताए ।
यसअघि कबड्डी कबड्डी र पुरानो ढुंगा फिल्म बनाएको कम्पनी सिनेमा आर्टले घामपानीको निर्माण गरिरहेको हो । हाइलाइट नेपाल, टर्चलाइट प्रोडक्सन र अश्लेसा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरिरहेका छन् ।
 
फिल्ममा दया र केकीसँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई, प्रेमवर्षा खड्कालगायतले अभिनय गर्नेछन् । शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत, शंकर थापाको शृंगार रहने फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्ने जनाइएको छ । कान्तिपुरले लेखेको छ ।