नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो

          नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा विहीबार आयोजक हङकङमाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।
कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनायो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो ।

नेपालले सुरुका दुई खेलमा भने हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो । मंगलबारकै अर्को खेलमा चीनले शीर्षस्थानको थाल्यान्डलाई तीन विकेटले पराजित गरेपछि छनोट प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । एसियामा शीर्षस्थानमा रहने टिमले विश्वव्यापी छनोटमा अवसर पाउनेछ । लगातार दोस्रो जितसँगै नेपालले पनि शीर्षस्थानमा रहदै ग्लोबल क्वालिफाइर खेल्ने संभावना कायमै राख्यो ।

एसियाली छनोटमा तीन जित हात पारेको थाइल्यान्ड ६ अंकसहित शीर्षस्थानमा छ । समान ४ ४ अंक जोडेपनि राम्रो नेटरनरेटको आधारमा नेपालभन्दा अगाडि रहेको हङकङ दोस्रो स्थानमा यथावत् रह्यो । चौथो खेलमा आएर पहिलो जित हात पारेको चीन २ अंकसहित अन्तिम स्थानमा छ । अब नेपालले शुक्रबार हङकङ क्रिकेट क्लबमा थाइल्यान्ड र मिसन रोड मैदान, मोङ कोकमा शनिबार चीनसँग खेल्नेछ ।

प्राविधक रुपमा र खेलाडीको व्यक्तिगत कौशलको आधारमा सबभन्दा बलियो टिम नेपाल हो, नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजु बस्न्यातले भने, हामीले हङकङसँग हात पारेको जित र चीनले थाइल्यान्डलाई पराजित गरेपछि एसियाली छनोटमा शीर्षस्थानको होड खुला भएको छ । लगातार दुई जितसँगै टिममा आत्मविश्वासी बन्दै गएको छ । अब ठूलो अन्तरले दुई खेल जित्दै ग्लोबल क्वालिफाइरमा पुग्न चाहन्छौं ।

करुणाको अलराउन्ड प्रदर्शन

करुणा भण्डारीले अलराउन्ड प्रदर्शन गरेपछि हङकङविरुद्ध नेपालको जित संभव भएको हो । आठौं नम्बरमा ब्याटिङ गरेकी उनले नटआउट १९ रनको योगदान गरिन् । उनले २७ बल खेल्दै दुई चौका प्रहार गरिन् । अघिल्लो खेलमा बलिङ गर्ने अवसर नपाएकी उनले विहीबार चार ओभरको स्पेलमा १७ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । उनी वुमेन अफ दि म्याच पनि घोषित् भइन्

हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं तर हामीलाई आफ्नो बलिङ राम्रो छ भन्ने थाहा थियो । सबैले राम्रो बलिङ गरेपछि जित संभव भयो । यसले अझ राम्रो खेल्न उत्साहित बनाएको छ, आत्मविश्वास बढाएको छ, करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेकी करुणाले भनिन्, सबैले थोरै थोरै रन जोडेपनि राम्रै स्कोर बन्छ, जुन हङकङविरुद्ध देखियो । अब अर्को खेलमा पनि मिहिनेत गरे राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।

नेपालले नौ रन जोडासम्म सीता रानामगर, काजोल श्रेष्ठ र अघिल्ला खेलमा भरपर्दा देखिएकी निर्मला शाहीलाई गुमाइसकेको थियो । इन्दु वर्मा (१५ रन) र ज्योती पाण्डे (११ रन) ले चौथो विकेटको लागि २० रनको साझेदारी गर्दै नेपाललाई २० ४ को संघर्षरत् अवस्थामा पुऱ्याएका थिए । नेरी थापा (१० रन) र सरिता मगर (५ रन) रनआउट भएपछि नेपाल ४७ ६ को स्थितिमा पुगेको थियो ।

कप्तान रुबिना क्षेत्री पनि ४ रन बनाएर पवेलियन फर्केकली थिइन् । हङकङका चान का मानले तीन र किनु गिलले दुई विकेट लिएर नेपाललाई सामन्य स्कोरमा रोकेका थिए ।
रुबिनाले नेचुरल यिपलाई १ रनमा बोल्ड गरेपछि तेस्रो ओभरमा हङकङ ९ १ को अवस्थामा पुगेको थियो । तर, निर्मलाको बलमा विकेटकिपर ज्योतीले केरी चानलाई १८ रनमा आउट गरेपछि हङकङले सातौं ओभरमा दोस्रो विकेट गुमाएको थियो । त्यसबेला ३३ रन जोडेको हङकङ बलियो स्थितिमा थियो । त्यसपछि भने उसले उस्तै लय कायम राख्न सकेन । नेपाली बलिङसामु हङकङका ब्याटसउमन क्रिजमा टिक्न सकेनन् र उसले ४४ रन जोडासम्म ६ विकेट गुमायो ।

१३ रन बनाएर इनिङ्स सम्हाल्न प्रयासरत कप्तान मरिका हिललाई सरिता मगरले निर्मलाको सहयोगमा पिचबाट हटाइन् । अन्त्यतिर ६ रन जोडेकी चान का मानलाई सवनम राईले एलबीडब्लु धरापमा पारेपछि नेपालले १४ बल बाकी छंदै हङकङलाई ६९ रनमा सीमित पार्दै रोमाञ्चक जित हात पारेको हो । सीताले दुई तथा रुबिना, सबनम र निर्मलाले एक एक विकेट हात पारे ।कान्तिपुरले लेखेको छ ।