दुवै बिरामी: पाँडे डिस्चार्ज, जिग्रीलाई पनि उस्तै समस्या

        
    केही वर्षदेखि भद्रगोल टेलिश्रृंखला हिट छ। र, उत्तिकै हिट छन् यसमा अभिनय गर्नेहरु। देशदेखि विदेशसम्म उनीहरुको माग चुलिएको चुलियै छ। यसैमध्येका कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे लाई दशैंतिहार, ल्होसारजस्ता चाडदेखि नयाँ वर्षको आसपासमा भ्याइनभ्याइ हुन्छ। यसपटकको दशैंमा पनि उनीहरुले देशभित्र करिब आधा दर्जन ठाउँमा प्रस्तुति दिने निधो गरेका थिए। तर, मध्य दशैंमा यी दुईलाई उस्तै समस्याले सतायो। पाँडेले त आठ दिन अस्पतालको बास नै व्यहोरे।
 
पाँडे अष्टमीको दिन चाबहिलस्थित एक अस्पतालमा भर्ना भएका थिए। पाँडेको भनाइमा लामो समयदेखि पेट दुखाइ, खाना अरुचीजस्ता समस्या भोग्दै आएका उनको पेटको अपरेसन गरिएको छ। आइतबार घर फर्किएको उनले बताए। १४ दिनको यात्रापछि फूलपातीको दिन कुमारजी र म काठमाडौं फर्किएका थियौं, अघिपछि ठट्यौली भावमा प्रस्तुत हुने पाँडे मधुरो स्वरमा बोले, चार ठाउँमा कार्यक्रम बाँकी नै थियो। तर, रोगले एक्कासी च्यापेपछि अस्पताल भर्ना भएँ र अपरेसन गरियो। अब एक महिना आराम गर्नुपर्ने डाक्टरको सल्लाह छ।
 
उता, जोडी जिग्रीले पाँडेभन्दा धेरै अघिदेखि नै पेटको समस्या भोग्दै आएका रहेछन्। हास्य कलाकारिताको संघर्षको सुरुवाती कालमा जन्डिसबाट पीडित बनेका जिग्रीलाई त्यही बेलादेखि नै ग्यास्ट्रिकजस्ता रोगका कारण पेटमा समस्या देखिएको थियो। कलाकारितामा लागेपछि स्वस्थबद्र्धक खानापानी समयमा नपाइने, जिग्रीले भने, खानाकै कारण सात/आठ वर्षअघिदेखि सुरु भएको रोगका कारण अहिले नियमित औषधी सेवन गरिरहेको छु। डाक्टरको सल्लाहअनुसार यदि औषधीले ठीक नभए अर्जुनजीको जस्तै अपरेसन गर्नुपर्ने हुन्छ।
 
तय भएका कार्यक्रममा जान नपाएकोमा दुःख व्यक्त गर्दै दुवैले आफूहरुको बदमासीका रुपमा नबुझिदिन शुभचिन्तकलाई आग्रह गरे। आयोजकको पनि फट्याईं होइन, हाम्रो पनि फट्याईं होइन, पेटको रोगले यसैबेला फट्याईं गर्‍यो, जिग्रीले भने अघिपछिजस्तै ठट्टा गर्न भ्याए।

सेतोपाटी