यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा र गोरु पूजा गरिँदैछ ।
आ-आफ्नो आँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ । आजै गाई र गोरुको पनि पूजा गरिन्छ ।
यस्तै नेवार समुदायमा भने आज साँझ परिवारका सबै व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो ।
आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काममा फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिन्छ ।
यसैबीच, यस वर्षको टीकाको साइत भोलि कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले साइतको समय भने पनि भाइटीकाको दिन दिनैभर टीका लगाउन कुनै फरक नपर्ने जनाएको छ । भाइटीकामा दिदी-बहिनीले दाजु-भाईलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार पकाएर खुवाउने गरिन्छ । भाईटीका सँगै तिहार सम्पन्न हुन्छ ।