आज हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन भाईटिका, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै छ ।
फाइल तस्बिर
भाइटीकाका लागि शुभसाइत बिहान ११:५२ मिनेटमा रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।
भाइटीका अगाडि दिदीबहिनीले यमराजको प्रार्थना, धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते ।। तथा पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
हरेक वर्ष भाइटीकाको दिन खुला गरिने रानीपोखरीस्थित बालगोपाल मन्दिरमा पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि भाइटीका नहुने भएको छ । भूकम्पले क्षतिग्रस्त भएको मन्दिरको अझैपनि जीर्णोद्धार नहुँदा मन्दिरमा टीकाको कार्यक्रम नराखिएको हो । तर, बसन्तपुरस्थित काष्ठमन्डपमा अस्थायी पाल राखेर सामूहिक भाइटीका गर्ने तयारी गरिएको छ ।