नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा

नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शनिबार भएको सेमिफाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो ।
नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसका दुईओटा प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले रोकेका थिए भने एउटा प्रहार बाहिरिएको थियो । किरणकै नायकीपनले नेपाल फाइनलमा पुगेको हो ।
यसअघि, कुचिङको मैदानमा भएको खेलको निर्धारित् ९० मिनेटसम्म १-१ गोलको बराबरी भयो । खेलको १८औं मिनेटमा डिफेन्सको कमजोरीले गोल खाएको नेपालले ४७औं मिनेटमा बराबरी गरेको थियो । भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गरे ।
त्यसपछि थपिएको ३० मिनेटको खेलको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई जितनजिक पुर्‍याए । हेमन गुरुङको पासमा अनन्तले हेडगोल गरेका थिए ।
तर, खेल सकिन ३ मिनेट बाँकी छँदा फेरि डिफेन्सको कमजोरीले नेपालले गोल खाँदा पेनाल्टी सुटआउटमा निर्णय हुन पुग्यो ।
नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको थियो ।
नेपालले समूहमा ब्रुनाईलाई ३-० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । लाओसले भने मकाउसँग हार व्यहोर्दै समूह उपविजेता बनेको थियो ।
अब नेपालले फाइनलमा ब्रुनाई र मकाउबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । इमेजखबरमा समाचार छ ।