बिहे त गरेँ, फिल्म त किन नबनाउँला र ? : राजेश हमाल

         
   वैकल्पिक सिनेमा पारखीका रुची सम्बोधन हुनेगरी नेपालमा फिल्म फेस्टिभलको संख्या बढ्दैछन्। केही समयअघि मात्र राजधानीमा एकादेशमा फिल्म फेस्टिभल सकियो, राजधानीमै बिहिबारदेखि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव सुरु हुँदैछ।
 
फरक भूगोलका समुदायका  फरक फरक स्वभाव, रहनसहन, चालचलन समेट्ने सिनेमालाई एउटै थलोमा हेर्ने रुची भएकालाई पुष २४ देखि माघ २ गतेसम्म आयोजना हुने  अन्तर्राष्ट्रिय चलचित्र महोत्सव उत्तम विकल्प हुन सक्छ।
 
अखिल नेपाल चलचित्रकर्मी संघले आयोजना गर्न लागेको यो महोत्सवले भने हाल तोकिएका सातवटै प्रदेशमा हरेक वर्ष फिल्म महोत्सव आयोजना गर्ने लक्ष्यअनुरुप प्रदेश नम्बर १ को मुख्य सहर धरान रोजेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् संघका अध्यक्ष केपी पाठकले फिल्मी गतिविधिहरु काठमाडौंकेन्द्रित भइरहेको र बाहिरका दर्शकलाई पनि मौलिक सिनेमाको स्वाद चखाउनु आवश्यक रहेको बताए। फिल्मको विकासका लागि दर्शकलाई पनि फरक फरक स्वादका फिल्मबारे जानकारी गराउनु आवश्यक छ, पाठकले भने, सिनेमा हेर्न पनि सिक्नुपर्छ। देश संघीयतामा गइसकेको छ। हामी चाहन्छौं, हरेक प्रदेशका दर्शकले बिभिन्न देशका मौलिक सिनेमा हेर्न पाउन्। सिक्न पाउन्। हामी यसरी नै प्रत्येक वर्ष फरक फरक प्रदेशमा महोत्सव आयोजना गर्नेछौं।
 
धरानस्थित सभागृह प्रेक्षालयमा आयोजना हुने महोत्सवलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्। मौलिक, यथार्थपरक तथा कलात्मक फिल्मलाई मुलधारका फिल्मसँग जोड्ने उद्देश्य बोकेको महोत्सवमा १६ देशका ४६ वटा फिचर, सर्ट तथा डकुमेन्ट्री प्रदर्शन हुनेछन्। नेपाल पानरोमा र अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फ क्रमशः तीन तीनवटा उत्कृष्ट पुरस्कार दिइने महोत्सवमा अभिनेता राजेश हमाल, निर्देशक लक्ष्मीनाथ शर्मा, फ्रान्सेली फिल्म प्राध्यापक ड्रागन मिलिन कोभिक र भारतकी छायांकार फाओजिया फथिमा निर्णायक तोकिएका छन्।
 
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता तथा निर्णायक राजेश हमालले यस्ता फिल्म महोत्सवले नेपाललाई फिल्म हब को रुपमा स्थापित गर्न सहयोग पुर्याउने बताए। उनले भने, बाहिरबाट हेर्दा फरक देखिए पनि फरक फरक देशबीच धेरै समानता हुन्छन्, त्यसलाई मौलिक फिल्महरुले देखाउँछन्। यस्ता फिल्महरुले दुई वा धेरै देशबीचको सम्बन्ध बलियो बनाउँछ। द्विदेशीय सम्बन्धका हकमा त राजनीतिले गर्न नसक्ने काम सिनेमाले गर्न सक्छन्।
 
वर्षौंदेखि फिल्म निर्देशन गर्छु भन्दै आएका हमालललाई यसै विषय समातेर पत्रकारले प्रश्न तेस्र्याएका थिए। जवाफमा हमालले आफू सर्ट फिल्मको नभइ फिचर फिल्मसम्बद्ध कलाकार भएकाले फिचर फिल्मबाटै आफ्नो निर्देशकीय डेब्यु हुने सम्भावना व्यक्त गरे। बिहे त गरेँ, फिल्म त किन नबनाउँला र? ढिलोचाँडो फिल्म बनाउँछु, उनले हाँस्दै भने।
 
अर्का निर्णायक तथा निर्देशक लक्ष्मीनाथ शर्माले फिल्मको निर्माण मनोरन्जनात्मकताबाट सुरु भए पनि जीवनसँग अत्यन्तै घनिष्ठ सम्बन्ध राख्ने फिल्मको पनि उत्तिकै आवश्यकता रहेको औंल्याउँदै यस्ता महोत्सवले दर्शकलाई त्यस्ता फिल्मप्रति प्रेरित गर्ने बताए।
 
महोत्सव आयोजकका अनुसार प्रदर्शन हुने ४६ वटै फिल्मले प्रतिष्पर्धामा भाग लिनेछन्।  जसमध्ये नेपाल पानोरमाअन्तर्गत नेपाली फिल्हरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत नेपालसहित बाँकी देशका फिल्महरुबीच प्रतिस्पर्धा हुनेछ। नेपाल पानरोमाअन्तर्गत उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट सर्ट फिल्मले क्रमशः श्रीजंगा अवार्ड रामप्रसाद राई अवार्ड र चतुर्मान राजवंशी अवार्ड पाउनेछन्। जसमा क्रमशः ५० र ३० ३० हजार रुपैयाँको धनराशीसहित ट्रफी प्रदान गरिनेछ।
 
यस्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मका लागि १ हजार अमेरिकी डलर राशी र ट्रफी सहितको गौतम बुद्ध बेस्ट फिचर फिल्म अवार्ड, उत्कृष्ट डकुमेन्ट्रीका लागि  ५ सय अमेरिकी डलर राशी र ट्रफी सहितको माउन्ट एभरेस्ट बेस्ट डकुमेन्ट्री अवार्ड र बेस्ट सर्ट फिल्मका लागि ३ सय अमेरिकी डलर राशी र ट्रफी सहितको रारा बेस्ट सर्ट फिल्म अवार्ड दिइनेछ।
 
पाँच दिन लगातार चल्ने महोत्सवमा फिल्म मात्रै देखाइने छैनन्, कार्यशाला, अन्तरक्रियाजस्ता कार्यक्रम पनि हुनेछन्। जसमध्ये चिनियाँ फिल्म निर्देशक सेई फीले सिनेमा फर पिपुल शीर्षकमा मास्टर क्लास, फ्रान्सेली फिल्म प्राध्यापक ड्रागन मिलिन कोभिकले थिएटर एन्ड एक्टिङ र भारतकी छायाँकार फाओजिया फथिमाले भिजुअल ल्यांग्वेज अफ सिनेमा शीर्षकमा कार्यशाला चलाउनेछन्।
 
यस्तै, नेपाली सिनेमामा नेपाली समाजको प्रतिबिम्ब : यथार्थ र आवश्यकता नेपाली चलचित्रकर्मीको समस्या, सिनेमा र राजनीति, सिनेमा समीक्षा, सिनेमा, नाटक र साहित्यको अन्तरसम्बन्ध, नेपाली सिनेमाको सौन्दर्यशास्त्र र नेपालमा वृत्तचित्रको वर्तमान अवस्था, समस्या र सम्भावना शीर्षकमा अन्तक्र्रिया हुनेछन्।

सेतोपाटीबाट