प्रदेश नटुक्र्याउन माग गर्दै १३ दिनदेखि जारी गुल्मीको आन्दोलनलाई थप चर्काउन केन्द्रिय नेताहरुले निर्देशन दिएका छन् । कान्तिपुरमा समाचार छ ।
आन्दोलन संयुक्त संघर्ष समितिले सोमबार तम्घासमा आयोजना गरेको विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद चन्द्र भण्डारी, एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चन्द्रबहादुर खड्का, नेकपा मालेकी सांसद कमला विश्वकर्मा, राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम पाण्डेसहितका आधा दर्जन बढी नेताहरुले सरकारले प्रदेश टुक्र्याउने निर्णय फिर्ता नलिंदासम्म आन्दोलन थप चर्काउन निर्देशन दिएका हुन् ।
अहिलेको सरकारको निर्णय गुल्मी टुक्र्याउने वा प्रदेश टुक्र्याउने भन्ने विषय मात्र होइन्, सांसद भण्डारीले भने, राष्ट्र सिंगो रहने कि नरहने भन्ने हो । राष्ट्र नै नरहे नेपालका कुनै पार्टी पनि नरहने भएकाले पार्टीभन्दा माथि उठेर आफूले आफ्नै पार्टीको सरकार विरुद्ध लागेकाले आन्दोलन नछोड्न बताए ।
एमालेका सचिव प्रदिप ज्ञवालीले कुनै पनि पक्षले स्वीकार गर्न नसक्ने संशोधन प्रस्ताव सरकारले किन र कसका लागि ल्याएको हो भन्ने प्रश्नको उत्तरै खोज्न नसकिने अवस्था आएको भन्दै त्यसको सामना राष्ट्रवादी शक्ति र दलले गरिरहेको बताए । जनता सडकमा छन्, सदन अवरुद्ध छ, उनले भने, संशोधन प्रस्ताव जसका लागि भनिँदैछ, उनैले विरोध गर्दैछन्, यो कस्तो अचम्म हो । देश नै नरहे हामी नेपाली नै नरहने भएकाले त्यसको कडा प्रतिवाद गर्न र आन्दोलन अझै सशक्त बनाउन उनले आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका नेता खड्काले अहिलेको प्रस्ताव सिंगो राष्ट्र बिखण्डनका लागि भएकाले सबै पार्टीले पार्टी नभनेर अखण्ड लुम्बिनी पार्टी बनाएर आन्दोलनमा होमिनुको विकल्प नभएको बताए ।
अब लुम्बिनीमा अन्य कुनै पार्टी हुने छैनन्, एउटै पार्टी हुनेछ अखण्ड लुम्बिनी पार्टी, उनले भने, जबसम्म सरकारले ५ नं. प्रदेश टुक्रयाउने निर्णय फिर्ता लिने छैन् । सभामा माओवादीका नेता टोपबहादुर रायमाझी आउने कार्यक्रम भएपनि अन्तिम समयमा प्राविधिक समस्याका कारण उनी आउन नसकेपछि उनले खड्कालाई कार्यक्रममा पठाएका थिए ।
उनले टोपबहादुर रायमाझीले आफ्नो राजनीति नै जोखिममा राखेर अखण्ड ५ नं. को पक्षमा लागेको सन्देश सुनाएका थिए ।
सभामा बोल्ने अखण्ड नेपाल, जनमोर्चा, नेकपा माले सहित अधिकांस पार्टीका केन्द्रिय सदस्यहरुले सडक संघर्षको अर्को विकल्प नभएको बताए । त्यस्तै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची लगायतका जिल्लाका नेताले समेत गुल्मीसँगै अब छलफल गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।
हामी पनि निरन्तर आन्दोलनमै छौं, अर्घाखाँचीका कांग्रेस सभापति विष्णु मुस्कानले भने, बन्द मात्र रोकेका हौं, अब पुर्न चर्काउछौं । पाल्पा एमालेका पूर्व अध्यक्ष देवी बस्यालले गुल्मीको निरन्तर आन्दोलनलाई समर्थन गर्दै पाल्पाले पनि केही दिनमै कडा आन्दोलनका कार्यक्रम ल्याउने बताए ।
निरन्तर १३ दिनदेखिको आन्दोलनले जिल्लाको जनजिवन प्रभावित हुादै गएको छ । आन्दोलनमा समर्थन जनाउन गाउँगाउँबाट आएका हजारौं नेता कार्यकर्तालाई थप निर्देशन दिंदै संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले समितिको अर्को निर्देशन नआउँदासम्म आमहड्तालका कार्यक्रम थप कडा रुपमा कार्यान्वयन गर्न आग्रह गरे । कान्तिपुरमा समाचार छ ।