जनकपुरधाममा ‘सरयू–कमला एक्सप्रेस’ को स्वागतको भव्य तयारी

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि सोमबार दिउँसो १२: ३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने तालिका छ । रेलको स्वागतका लागि जनकपुरधाममा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका रेल स्टेसनमा रोकिनेछ ।

१७ वटा डिब्बा रहेको रेलमा शयनयान, वातानुकूलित तेस्रो श्रेणी, वातानुकूलित तेस्रो श्रेणी इकोनोमी र वातानुकूलित दोस्रो श्रेणीका सुविधा उपलब्ध छन् । यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ ।

भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन र दुई देशबीचको आवागमन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।