काठमाडौं उपत्यकाका भूकम्पप्रभावितले अहिलेसम्म घर निर्माणको राहत पाउन सकेनन्
मंसिर २७ गते, २०७३ मा प्रकाशित
काठमाडौं उपत्यकाका भूकम्पप्रभावितले अहिलेसम्म सरकारबाट घर निर्माणको राहत पाउन सकेका छैनन् ।
सरकारबाट सहयोग पाउँला र घर बनाउँला भनेर आस गरेर बसेकाहरु प्लास्टिकको पाल र अस्थायी ठहरोमै दिनरात गुजार्न बाध्य छन् । जसका कारण काठमाडौंभित्रै रहेर पनि उनीहरुले आफूलाई सरकारबाट टाढा भएको महसुस गरेका छन् ।
काठमाडौंको नयाँबसपार्कबाट मुस्किलले ३ किलोमिटरको उत्तरमा अवस्थित तारकेश्वर नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा पुग्दा उपत्यकाबाहिरका दुरु-दराजको गामीण क्षेत्रको झल्को आउँछ ।
२० महिनाअघि भूकम्पले लडाएका घरका भग्नावशेषछेउमै पाल तथा टिनबाट बनाइएका अस्थायी टहरोमा बस्नेहरुले आफूलाई काठमाडौंभित्रै बसेको छुजस्तो पटक्कै अनुभव गर्न पाएका छैनन् ।
दुईओटा बर्खा र एउटा जाडो यहीँभित्र गुजारेका भूकम्पप्रभावितले यसपटकको जाडो पनि यहीँभित्र बिताउने निश्चित छ ।
देशका अधिकांश भूकम्पप्रभावित जिल्लाका स्थानीयले पहिलो किस्ताको रकम पाइसक्दा काठमाडौं उपत्यकाभित्र सरकारले लगत संकलन भ्याएको छ । अब घर निर्माणको लागि रकम दिने त कहिले हो कहिले ?
सरकारले रकम देला र घर बनाउँला भन्नेहरु अब निराशमात्रै होइन, आक्रोशित बन्न थालेका छन् ।
३ वर्षअघिको संविधानसभा चुनावकाबेला नेताहरु भोट माग्न आउँदा जनताले आफ्नो मनपर्ने नेतालाई विजयी बनाएर पठाए । त्यतिबेला सडकमा रहेका नेता अहिले सदनमा पुगेका छन् ।
समयक्रम र प्रकृतिको प्रहारपछि जनता भने पालमुनि बस्न बाध्यछन् । तर, जनताको अमूल्य मतबाट विजयी बनेर गएकाहरुले २० महिनासम्म आफूहरुलाई पालमै बस्न बाध्य बनाएकोप्रति उनीहरु दुःखित छन् । इमेजखबरमा समाचार छ ।