एमाले अध्यक्ष ओलीद्वारा मुलुकमा दुई राष्ट्रियता स्थापित गर्ने उद्देश्यले संशोधन प्रस्ताव ल्याइएको जिकिर

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा दुई राष्ट्रियता स्थापित गर्ने उद्देश्यले संविधान संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
आइतबार (आज) देशवासीका नाममा अपिल जारी गर्दै ओलीले मिलेर बसेको नेपाली समाजमा विद्वेष ल्याउने र किस्ता-किस्तामा हिमाल, पहाड र तराईलाई विभाजित गरेर दुई राष्ट्रियता स्थापित गर्ने दुराशय संशोधन विधेयकभित्र लुकेको जिकिर गरेका हुन् ।
२०७४ को माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा संविधान संशोधन प्रस्ताव ल्याएर सत्ताधारी दलहरुले मुलुकलाई अनिश्चयतिर धकेलेको आरोप लगाउँदै उनले सरकारले धाक-धम्कीको भाषा प्रयोग गरेर मुलुकमा सहमतिको वातावरणसमेत बिगारेको आरोपसमेत लगाएका छन् ।
संशोधन प्रस्तावले मुलुकमा राजनीतिक संकट झन् गहिरिएको भन्दै ओलीले संविधान निर्माणमा मुख्य जिम्मेवारी निर्वाह गरेका दलहरुलाई निषेध गर्न खोज्दा ध्रुवीकरण बढेको पनि बताएका छन् ।
संशोधनको नाममा देशलाई अनिश्चयतर्फ धकेल्ने गरी गरिने कुनैपनि क्रियाकलाप स्वीकार्य नहुने पनि उनले स्पस्ट पारेका छन् । इमेजखबरमा समाचार छ ।