नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता-कार्यकर्तामाथिको आक्रमण नरोकिए एमाले ‘पिँठ्यु फर्काएर नभाग्ने’ चेतावनी दिएका छन् ।
मेची-महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा शुक्रबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले तराई-मधेसका जिल्लामा आफ्ना नेता-कार्यकर्तामाथि भइरहेको आक्रमण अविलम्ब रोक्न माग गरे ।
सुखानी सहिद स्मृति दिवसको अवसरमा शनिबारदेखि सन्चालन गर्न लागिएको मेची-महाकाली राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक संस्कार देखाउन नसक्नेहरु जनताबाट बहिस्कृत हुने भन्दै एमाले पनि चुप लागेर बस्दैन- भने ।
यस्तै, अर्का एमाले वरिष्ठ नेता झलनाथ खनालले एमालेविरुद्ध तराई-मधेसमा फैलाइएको भ्रम चिर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको बताए ।
शनिबार (भोलि)देखि झापाको काँकडभिट्टाबाट सुरु हुने अभियानमा सहभागी हुन एमालेका शीर्ष नेताहरु झापा आइपुगेका छन् ।
पार्टी अध्यक्ष ओली, वरिष्ठ नेताद्धय नेपाल र खनालसहित महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रचार विभाग प्रमुख योगेश भट्टराईलगायतका नेताहरु झापा आइपुगेका हुन् । इमेजखबरमा समाचार छ ।