भूमिकास्थान नगरपालिकामा एमालेबाट पति मेयर, पत्नी उपमेयर

भूमिकास्थान नगरपालिकाको मेयरका पीताम्बर भुसाल (दाँया) र उपमेयरका जाल्पा भुसाल उम्मेदवार जोडी
वीरेन्द्र केसी   
भूमिकास्थान, अर्घाखाँची । संयोग नै मान्नुपर्छ, सँगै राजनीति गरेका एक जोडी मेयर र उपमेयरका उम्मेदवार बनेका छन् । एमालेले भूमिकास्थान नगरपालिकाको मेयरमा पीताम्बर भुसाल र उपमेयरमा जाल्पा भुसाललाई उम्मेदवार बनाउन छनौट गरेको हो ।
जिल्लामा विकास योजनाकारका रूपमा चर्चित पीताम्बर एमाले ५ नम्बर प्रदेश कमिटी सदस्य र उनकी पत्नी जाल्पा अखिल नेपाल किसान राष्ट्रिय महासंघको केन्द्रीय सदस्य छिन् । जाल्पासँगै वैकल्पिक उम्मेदवारमा शिक्षक सुनिता बेल्वासेलाई तोकेको छ ।
पीताम्बर २०५५ मा जिविस सभापति भएका थिए । त्यतिबेला सबै गाविसमा मोटरबाटो पुर्‍याउन योजना बनाएर काम सुरु गरेका थिए । अहिले टोलैपिच्छे यातायातको सुविधा छ । सडकका हिसाबले अर्घाखाँची देशकै नमुना जिल्लामा पर्छ । दुवै जना वडा र जिल्ला पार्टीबाटै सर्वसम्मत सिफारिस भएपछि प्रदेश कमिटीले उम्मेदवार तोकेको हो । जिल्लामा अन्य समकक्षी पार्टीसँग चुनावी तालमेलमा सहमति जुटे हेरफेरका लागि दुई जनाको नाम छनोट गरिएको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । 
विद्यार्थी कालदेखि नै दुवै जना राजनीतिमा सक्रिय थिए । ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न छु,’ जाल्पाले भनिन्, ‘घरपरिवार नभनेर पार्टीको काम र संगठन विस्तारमा सधैं लागिपरेकी छु । दुवै जना उम्मेदवारमा छनोट गरेर पार्टीले राम्रो मूल्यांकन गरेको छ ।’ 
गाउँमा चुनावी सभा, बैठक, छलफल र एकले अर्काको मत तान्ने होडबाजी नै चलेको थियो । सरकारले प्रदेश नम्बर ५ को चुनावको मिति दोस्रो चरणमा सारेपछि चुनावी गतिविधि सुस्ताएको छ । नगरमा कांग्रेस र माओवादी केन्द्र कमजोर देखिन्छ । दुवै जना गाउँका नेता तथा कार्यकर्ता भेटघाट र चुनाव जित्ने रणनीतिमा व्यस्त छन् । दोस्रो चरणको चुनावको मिति नजिकै आइपुग्नुभन्दा पहिले नै मत माग्न गाउँ जाने उनीहरूले बताए ।    

अन्य समाचारहरु