अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची बैशाख २२ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना माग्ने परिपाटीको विकास भएमा मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने बताएका छन् । उनले सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरुले सूचना लुकाइ भ्रष्टाचार गरिरहेको बताउँदै सूचना माग्ने कार्यमा पछि नहट्न आग्रह गरे । सूचना तथा सुशासन अभियान ( सिआइजी) अर्घाखाँचीले गरेको अन्तरक्रियामा बोल्दै उनले धेरै नागरिकलाई सूचनाको हकको बारेमा जानकारी नै नभएको बताए ।

‘सूचनाको हकको बारेमा सबैलाई बुझाउनका लागि आयोगको अग्रसरताले मात्र हुँदैन’ उनले भने, ‘यसमा सबै सचेत वर्गको सहयोग चाहिन्छ ।’ सूचना माग्ने प्रणालीको विकास गर्न नसक्दा नागरिक धेरै अधिकारबाट बञ्चित भएको बताए । ‘कृषक र महिलाका प्रशस्तै हकहरु रहेका छन्’ उनले भने, ‘आफ्ना हक अधिकारका बारेमा ति वर्गहरु जानकार छैनन् ।’ उनले सूचना आयोगले सूचनाको हकका विषयमा निकै महत्वपूर्ण काम गरेको जानकारी दिँदै अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । ‘सूचना आयोगको निर्देशनमा कर छल्ने व्यापारी सम्म कारवाहीको दायरामा आएका छन्’ उनले भने, लोकसेवा आयोगले लिने परिक्षामा विद्यार्थीले आफ्नो अंक हेर्न सक्ने सम्मको व्यवस्था सुरु ग-यौं ।’
उनले सार्वजनिक निकायमा काम गर्ने कर्मचारीहरुलाई सूचना दिन निर्देशन समेत दिए । बास्कोटाले सरकारी कर्मचारीहरुले शासकको व्यवहार नगरि सेवकको भूमिका निर्वाह गरेमा मात्र लोकतन्त्रको अनुभूति हुने बताए । उनले सूचना अधिकारीले विवेकशिल ढंगले सूचना माग कर्तासँग व्यवहार गर्नु पर्ने बताए । उनले सूचना तथा सुशासन अभियानले सूचनाको हकको क्षेत्रमा अन्य जिल्लामा भन्दा विशेष खालको पहिचान बनाएको बताए ।

अभियानका अध्यक्ष मुक्तिनाथ भुसालले जिल्लामा सूचना माग्ने परिपाटीको विकास भएको भन्दै सूचनाको हकका बारेमा गाउँ-गाउँ सम्म सचेतना अभियान सञ्चालन भइरहेको बताए । उनले आफ्नो संस्थाले काम थालेपछि जिल्लाका सबै कार्यालयले सूचना अधिकारी तोकेको बताए । ‘पहिले-पहिले सूचना माग्दा आनाकानी गर्ने चलन थियो’ उनले भने, ‘हामीले खवरदारी गर्न थालेपछि सूचना दिने संस्कारको विकास हुँदै गएको छ । कार्यक्रममा स्थानीय विकास अधिकारी, प्रदिप पौडेल, जिल्ला विकास समितिका शेषकान्त घिमिरे ओसन, राष्ट्रिय जनमोर्चाका नेता जीवनारायण खनाल, पत्रकार महासंघका सचिव सुर्य प्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला स्थित सार्वजनिक निकायका कार्यालय प्रमुख, लेखापाल, सूचना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
अर्घाखाँची डटकमकर्मी सम्मानित
सोही अवसरमा सूचनाको हक र सुशासन प्रवद्र्धनमा कलम चलाएको भन्दै अर्घाखाँची डटकमकर्मी अर्जुन भुसाललाई सम्मान गरिएको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा र स्थानीय विकास अधिकारी प्रदिप पौडेलले सम्मान पत्रले सम्मान गरे । पत्रकार रुद्रमणि भुसाल, बिनोद गैरे, घनश्याम पौडेल र तेजेन्द्र पाण्डेलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा केहि कार्यालय प्रमुख, सूचना अधिकारी, वडा सचिव सामाजिक परिचालक र कलाकारलाई पनि सम्मान गरिएको छ ।