स्व. सरोज पौडेल । तस्बिर: फेसबूकबाट
काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको नुवाकोट पोखेडाँडाका एक युवकको लामखुट्टेको टोकाइबाट लाग्ने जापानी इन्सेफ्लाइटिस रोगबाट काठमाडौंमा निधन भएको छ ।
नुवाकोट पोखेडाँडा (निमडाँडा) का सरोज पौडेलको गत हप्ता बैशाख १३ गते उपचारको क्रममा सुमेरु अस्पताल धापाखेल काठमाडौंमा मृत्यु भएको थियो । उनिलाई लामखुट्टेको टोकाइ पछि टाउको दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएका थिए । अस्पतालमा भर्ना गरेको १० पछि उपचार गर्ने क्रममा उनको मृत्यु भएको नुवाकोट दिपज्योती युवा परिषदका राज कुमार श्रेष्ठले अर्घाखाँचीडट्कम जानकारी गराए ।
३६ वर्षका सरोज कुमार पौडेलको निधनले उनकी श्रीमती तारा पौडेल घिमिरे, बुबा मिनराज पौडेल आमा राधा देवी पौडेल र उनका चार भाई रमेश, हरि प्रसाद, लक्ष्मण पौडेल र एक दिदी सरसता पौडेल लगायतको परिवार शोकमा डुबेको छ ।
सरोजले २०५४ सालमा भगवती मावी सन्खेटारी चुत्राबेशीबाट एस.एल.सी, पणिनी क्याम्पसबाट आईएे र काठमाडौंको शंकरदेव क्याम्पसबाट बिए तह पास गरी कम्पनी रजिस्टार कार्यालय काठमाडौंमा विगत ५ वर्ष देखि जागिर गर्दै आएका थिए ।
२०३८ साल बैशाख ४ गते जन्मेका सरोज आफ्नो जन्मदिनको बेला बिरामी परेका थिए । भने उनको २०७४ बैशाख १३ गते उपचारको क्रममा निधन भएको हो ।
स्व. पौडेल नुवाकोट दिपज्योती युवा परिषदका सदस्य तथा सहयोगी समेत रहेका थिए ।
के हो जापानिज इन्सेफ्लाइटिस?
जापानिज इन्सेफ्लाइटिस क्युलेस जातको मच्छड (जसलाई सेतो मच्छड पनि भनिन्छ)को टोकाइबाट फैलिने रोग हो । पहिले जापान र कोरियातिर बढी देखिएकाले यसलाई जापानिज इन्सेफ्लाइटिस भनिएको हो । धानखेती र बंगुरपालन भएको क्षेत्रमा बढी देखिने सेतो मच्छड साँझ र बिहान बढी सक्रिय हुन्छ । यो रोग सार्ने मच्छडले सुरुमा जलचर पशुपक्षीलाई टोक्न चाहन्छ । तर, फेला नपरेपछि मानिसलाई टोक्ने गर्छ ।
जापानिज इन्सेफ्लाइटिस भएमा ज्वरो आउने, बर्बराउन थाल्ने, स्मरणशक्तिमा ह्रास आउने, अंगहरूमा पक्षघात हुने र मानिसको मृत्युसमेत हुने गर्छ । यो रोग लागेका एकतिहाइलाई कडा खाले रोग पक्षघात, स्मरणशक्तिको ह्रास र अपांगता हुने गर्छ भने एकतिहाइको मृत्यु हुने गर्छ । जापानिज इन्सेफ्लाइटिसबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन् ।