प्रेम आचार्य
मैदान, अर्घाखाँची २३ जेठ । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर ५ साविकको मैदान गाविसमा विश्व वातावरण दिवस तथा सरसफाई सप्ताहको अबसरमा सरसफाइ सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
लुम्विनी समाजिक विकास केन्द्रको आयोजना तथा ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को सहयोगमा सरसफाई सप्ताह तथा वातावरण दिवसको अबसरमा र्याली, तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सरसफाई सम्वन्धि नारा लेखिएका प्ले कार्ड सहित मैदानको मनकामना मन्दिर देखि सुरु भएको र्याली मैदान हुदै माझका चौपारी सम्म पुगेर पुन मनकामना मन्दिरमा आई सरसफाइ सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा परिणत भएको थियो ।
गविस स्तरीय खानेपानी तथा सरसफाई स्वचछता समनवय समिति मैदानका सदस्य राम प्रसाद घिमिरेको अध्यक्षता र सहजकर्ता हिमालय घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा महिला प्राविधिक सेवा समुहकि अध्यक्ष कमला घिमिरे, खानेपानी तथा सरसफाई समितिकि कोषाध्यक्ष पार्वती घिमिरे, सरसफाइ समिति सदस्य रुपा रेस्मी, सरसफाइ सम्बन्धि कार्यक्रमका ट्रिगरर अर्जुन घिमिरे लगायतले वातावरण दिवस र सरसफाई सप्ताहको वारेमा जानकारी गराएका थिए ।
खुला दिसामुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मूल नाराका साथ नेपालमा आज जेठ २२ गते देखि देखि २८ गते सम्म १८ औं राष्टिय सरसफाइ सप्ताह जिल्ला भर विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
सरसफाइ गुरुयोजना २०६८ मार्फत सन २०१७ भित्रमा हरेक नेपालीलाई सरसफाइको आधारभूत सुविधाः चर्पीमा पहुँच पुर्याउने लक्ष्यलाई तोकिएको अवधीभित्रै हासिल गर्नका लागि सरोकारवाला निकायहरु लागि परेका छन् ।
अर्घाखाँची जिल्ला सन २०१४ भित्रै खुल्ला दिसामुक्त घोषणा भईसकेको छ भने हाल जिल्लाका सबै स्थानमा विभिन्न सरकारी तथा विकास साझेदार निकायहरुको सहयोग तथा सहजीकरणमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।
बैशाख महिनासम्मको खानेपानी तथा ढलनिकास विभाग, वातावरण शाखाका अनुसार खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेका ३७ जिल्लाहरुका ९ प्रतिशत घरधुरीमा चर्पी बन्न बाँकी रहेको छ ।