आज गुरुपूर्णिमा पर्व

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
ब्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।
‘गु’ को अर्थ अन्धकार र रु भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।
यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी आचार्यदेवो भवः भनिन्छ ।
गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । इमेजखबरमा समाचार छ ।