काठमाडौंमा ‘हिमआँधी’ बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त

 केके मानन्धर
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भाषा र संस्कृतिलाई प्रबद्र्धन गर्ने खालका चलचित्र निर्माणमा सहयोग गर्ने बताए । संस्कृति संरक्षणमा स्थानिय सरकारको भूमिका हुने भएर चलचित्रमार्फत संस्कृति प्रबद्र्धन गर्न सके अपेक्षित लक्ष्य हासिल हुने उहाँको भनाई छ । 
बुधबार लगन टोलको तःबहालमा भएको ‘हिमआँधी’ बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त गर्दै मौलिक कथाबस्तुमा चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिए । महाजु फाउण्डेशन भक्तपुरले नेपाली, नेपालभाषा, अंग्रेजी र चिनियाँ भाषामा ‘हिमआँधी’ चलचित्र बनाउन शुरु गरेको हो । 
शुभ मुहूर्त कार्यक्रममा नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरले निर्देशन स्वीकृति दिएकोमा सिद्धिचरण प्रतिष्ठानका नरेन्द्रभक्त हाडाले क्लाप दिएका छन् । त्यस्तै, डा. महेशमान श्रेष्ठले क्यामरालाई स्वीच अन गरी महानगरपालिकाका मेयर शाक्यले नरिवल फुटाएर संयुक्त रुपमा चलचित्रको शुभ मुहूर्त गरिएको छ । 
मुहूर्त कार्यक्रममा मूख्य भूमिका निर्वाह गरेका कलाकारहरुले आ-आफ्ना अभिनय प्रस्तुत गरेका छन् । निकी महर्जन, सनिश शाक्य, सुरज व्यञ्जनकार, रुपेन श्रेष्ठ, राजेन्द्र महर्जन राजी, विनेश श्रेष्ठलगायतका कलाकारले अभिनय प्रदर्शन गरेका छन् । त्यस्तै, आशाकाजी थकू, राजेन्द्रमान शाक्य, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, सुशील राजोपाध्याय, राजेन्द्र महर्जन, सुरेश महर्जन, डोमा शेर्पालगायतका कलाकारहरुको अभिनय रहने युवा निर्देशक प्रदीप खड्गीले जनाए । चलचित्रमा शंकर महर्जनले क्यामेरा चलाएका छन् भने निर्माण नियन्त्रण पक्ष महेश हाडाले गर्नेछ । 
कार्यक्रममा चलचित्रका पटकथा लेखक त​था परिकल्पनाकार ओमचरण अमात्यले चलचित्रभित्रको ऐतिहासिक परिवेश वर्णन गरे । बहुभाषिक चलचित्र ‘हिमआँधी’ असोज २५ गते देखि नियमित रुपमा तिब्बतको ल्हासा तथा काठमाडौंमा सुटिङ शुरु हुँदैछ । 
यसअघि मनाङ र मुस्ताङमा समेत सुटिङ भएको थियो । करिव ३ करोडको बजेटमा निर्माण हुने चलचित्रलाई स्तरिय बनाउन एनिमेसन प्रविधि पनि प्रयोग हुने बताइएको छ ।