दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो

-दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । 

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ । 

हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।  (रासस) 

फूलपाती यसरी पठाइयो गोरखाबाट हनुमानढोका

सुदीप कैनी

गोरखा

परम्पराअनुसार काठमाडौंको हनुमानढोकामा गोरखा दरबारबाट बुधबार बिहान फूलपाती पठाइएको छ । साइतअनुसार हुनमानढोकामा साँझ भित्र्याउन गोरखा दरबारबाट फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ना १ झ ६५४८ नम्बरको सरकारी गाडीलाई फुलमालाले सजाएर फूलपाती पठाइएको हो । पूजारी चुडानिधि तिवारीले उक्त गाडीमा फूलपाती लिएर गएका छन् । बाजागाजासहित दरबारबाट गोरखा सदरमुकामको सतिपिपलसम्म डोलेहरुले बोकेर ल्याएका थिए । त्यसपछि गाडीमा राखेर पठाइएको हो ।

सडक नखुल्दा गोरखाबाट धादिङको जीवनपुरसम्म दुईजना, नुवाकोटसम्म दुई जना डोलेले रिले गरेर लैजाने चलन रहेको बताइन्छ । नुवाकोटमा फुलपाति लिन काठमाडौंबाट पूजारीहरु आउने गरेको जानकारहरुको भनाइ छ । मगरहरुले डोलेका भूमिका निभाउने गर्दछन् ।

सशस्त्र द्वन्द्वको समयमा पनि मोटरसाइकलमा सुटुक्क फूलपाती लैजाने गरिएको थियो । गोरखा पर्यटन केन्द्र र एकता युवा क्लबको व्यवस्थापनमा बाजागाजा, र्‍यालीसहित धुमधाम गरेर फूलपाति पठाइएको हो । गोरखा दरबारको जमरा घरमा पनि बुधबार साँझ फूलपाती भित्र्याउने तयारी छ । घटनास्थापनाकै दिन एक पाथी चार माना अन्नको जमरा राखि सकिएको छ । बिजयादशमीको दिन भक्तजनहरुले दरबार पुगेर टीकासँगै जमरा थाप्ने चलन छ ।  

जाजरकोट दरबारमा फूलपाती भित्र्याइयो

भीमबहादुर सिंह

जाजरकोट दरबारमा फूलपाती भित्र्याइएको छ । त्यस्तै यहाँका स्थानीयले पनि घरमा फूलपाती भित्र्याइएका छन् ।  शक्तिको प्रतीक खडग देवतासहित जाजरकोट दरबारमा फूलपाती भित्र्याइएको हो । जाजरकोटमा उखु, अदुवा, बेलपत्रलगायत पूजा सामाग्री र खडग देवतासहित फूलपाती भित्र्याउने चलन छ ।

 

पुरानो जगतीपुर दरबारका पुजारी खलकका सन्तानले खडग देवता ल्याएर खलंगा दरबारको दसैं घरमा फूलपाती भित्र्याउने परम्परा छ । २० वर्षअघिसम्म जगतीपुर दरबारबाटै ब्राह्मण जातिका पूजारीले खडग देवतासहितको फूलपाती ल्याउने प्रचलन थियो । तर, माओवादी द्वन्दसँगै जिल्ला प्रहरी कार्यालय परिसरस्थित कालिका मन्दिरमा खडग देवता राख्ने गरिएको थियो । बुधबार कालिका मन्दिरबाट उक्त फूलपाती दरबारमा पूजाआजा सहित भित्र्याइएको छ । पूजारी सत्यप्रसाद शर्माले ल्याएको खडग र फूलपातीलाई प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले भित्र्याएका हुन् । 

इतिहासका जानकार केशवजंग शाहका अनुसार विक्रम सम्वत १८२५ मा पृथ्वीनारायण शाह र तत्कालिन जाजरकोटे राजा हरि शाहबीच काशीमा मितेरी ल्याएर धर्म सन्धि भएको थियो । मितेरीसँगै जाजरकोटले पृथ्वीनारायाण शाहको एकीकरण अभियानलाई सघाउने, पृथ्वीनारयाणको फौजले जाजरकोट राज्यमाथि आक्रमण नगर्ने, जाजरकोट राज्यको अस्तित्व कायम रहनेलगायत सम्झौता काशीमै भएको शाहले बताए । सोही सम्झौताका क्रममा पृथ्वीनारयाणले शक्तिको प्रतीक भगवतीको मूर्ति र खडग जाजरकोटे राजालाई उपहार दिएको इतिहासमा उल्लेख भएको शाहले बताए । 

काठमाडौं उपत्यकको आक्रमणमा पराजित भएपछि पृथ्वीनारायण शाह हतियारको बन्दोबस्ती गर्न र हरि शाह तीर्थ यात्रा गर्न गएको मौका काशीमा भेट भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने परम्पराको थालनी गरेसँगै जाजरकोट दरबारमा पनि जगतीपुरबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको शाहले बताए । २ सय ५० वर्षअघि जाजरकोट राज्यको दरबार जगतीपुरमा रहेको थियो । हाल जगतीपुर दरबार भग्नावेश छ ।  

 

रौतहट

रौतहट सदरमुकाम गौरमा बुधबार हर्ष बढाई (फूलापाती भित्र्याउँदै) गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित मोलपोतका कर्मचारी पूजारी । मालपोत परिसरमा रहेको भगवती मन्दिर परिसरमा धार्मिक विधिअनुसार पूजाआजा समेत गरिएको थियो । पूजापछि तोपले देवी भगवतीलाई सलामी समेत दिइएको थियो । तस्बिर : पवन यादव/कान्तिपुर 

रौतहट सदरमुकाम गौरस्थित मलपोत परिसरमा रहेको देवी भगवती मदिर परिसरमा रहेको मौलाको बुधबार पूजा गर्दै ब्रतालु महिलाहरु । यहाँका महिलाहरु नौरथा अवधिभर निराहार नवरात्री ब्रत बस्ने चलन छ । तस्बिर : पवन यादव/कान्तिपुर 

धनकुटा

वडादसैंको सातौं दिन फूलपातीको अवसरमा बुधबार धनकुटाको टुँडिखेलमा आयोजित फूलपाती बडाई गरिँदै । १८ औं शताब्दीदेखि उक्त स्थानमा परम्परागत फूलपाती बडाई गरिँदै आएको छ । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर

धनुषाको जनकपुर

जनकपुरमा फूलपाती भित्र्याउन सहभागीहरु । राममन्दिरका महन्थ रामगिरीको नेतृत्वमा फूलपाती संकलन गर्न गएका शोभायात्रामा जनकपुरका नवनिर्वाचित प्रमुख लालकिशोर साह, उपप्रमुख रीता देवी मिश्रसहितको सहभागिता थियो ।

तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

ताप्लेजुङ

आनन्द गौतम

ताप्लेजुङ । हर्ष बढाईका साथ ताप्लेजुङमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवाबाट ल्याइएको फूलपाती सेना र प्रहरीको ब्यारेकमा भित्र्याइएको हो । सशस्त्र प्रहरीवल कञ्चनजंघा गुल्म र नेपाली सेनाको टोली नयाँ रणभूमि गुल्मबाट बिहान पौने ७ बजे बाजागाजासहित नेपाल प्रहरीको कार्यालयमा गएको थियो । प्रमुख जिल्ला अधिकारी, सेना र प्रहरी प्रमुखले प्रहरी परिसरको दुर्गा मन्दिरमा पूजा गरेपछि ७ देवी देवतालाई ७ तोपको सलामी दिइयो । सेनानी रवी केसी नेतृत्वको टोलीले सलामी दिएपछि तोप पड्काएर बडाइ गरिएको थियो । त्यही बढाइपछि तीनै निकायको टोलीले आ–आफ्नो गुल्ममा फूलपाती भित्र्याए । यहाँ अघिल्लो दिन नै फूलपाती खोजेर ल्याउने गरिएको छ ।



http://bit.ly/2xJPCVI