युकेबाट अर्घाखाँचीका पहिरोपिडित परिवारलाई आर्थिक सहयोग

हरि प्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची । युकेमा रहेका अर्घाखाँचीवासीहरुले खाजा खर्च बापतको रकम बचाएर अर्घाखाँची जिल्लाको एक पहिरोपिडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
अर्घाखाँची जिल्लामा जन्मघर भई हाल विश्व स्वास्थ्य संघका हेल्थ कोओर्डिनेटर रहेका बालकृष्ण भुसालको सक्रियतामा पहिरोका घरगोठ गुमाएकी जिल्लाको शितगंगा नगरपालिका निवासी प्रेमकला बेल्वासेलाई नगद रु ८५ हजार (चेक)  हस्तान्तरण गरिएको हो ।
भुसालका अनुसार अर्घाखाँची जन्मिएर हाल युकेमा रहेका अर्घाखाँचीवासीहरुको बैठकमा खाजा खर्च कटाएर बचेको रकम पहिरो पिडितलाई हस्तान्तरण गरिएको हो । ‘सहयोग उठाएको नभई हामी जिल्लावासीहरुको भेलामा सामान्य खाजा खाएर बचेको रकम सहयोगको लागि दिने निर्णय गरेका हौं ।’
आज सन्धिखर्कमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल, प्रमाुख जिल्ला अधिकारी खिमराज भुसाल, स्थानीय विकास अधिकारी प्रदिप पौडेल, पत्रकार एवं समाजसेवी सहयोगी विसी लगायतको विशेष उपस्थितीमा भुसालले चेक हस्तान्तण गरेका छन् ।
यो पैसाले घर किन्छु : बेल्वासे
गत भदौमा पहिरोका कारण घरगोठ गुमाएकी बेल्वासेले सोही ठाउामा नयाँ घर बनाउन सक्ने अवस्था नरहेको भन्दै नयाँ घर किन्न चाहेको बताएकी छन् ।
सहयोग रकम बुझिसकेपछि यो रकम आफुले कुनै दुरुपयोग नगर्ने बताउदै बेल्वासेले घर बनाउनु भन्दा त्यही नजिकै घर किन्ने मानसिकतामा आफु रहेको बताईन ।
घर किन्नको लागि र थप ब्यवस्थापनको लागि समेत आफुहरुले सहयोग गर्ने भुसालले प्रतिवद्धता व्यक्त गरेका थिए ।

अन्य समाचारहरु