भारतका चर्चित अभिनेता शशी कपुरको निधन भएको छ । मृगौला रोगबाट पीडित उनको सोमबार साँझ ७९ वर्षको उमेरमा निधन भएको हो । मुम्बईको कोकिलाबेन स्थित धिरुभाई अम्बानी अस्पतालमा उपचारत कपुरको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
कपुर केही वर्षदेखि मृगौलाको रोगबाट ग्रसित थिए । कपुरका परिवारजनले उनको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्त्येष्टि भोलि बिहान हुने परिवारजनले बताएका छन् । कपुरको मृत्यु प्रति बलिउडका कलाकार, शुभचिन्तक लगायतले माइक्रोबल्गिङ साइट ट्विटर र फेसबुक मार्फत समवेदना दिएका छन् ।
५० को दशकबाट फिल्म खेल्न सुरु गरेका कपुर ७० र ८० को दशकमा बलिउड स्क्रिनमा रोमान्सका लागि चर्चित मानिन्थे । कपुरले १ सय भन्दा बढी हिन्दी र केही अंग्रेजी फिल्म खेलेका छन् । कपुरका जब जब फूल खिले, वक्त, दिवार, त्रिशुल, हसिना मान जाएगी लगायतका फिल्म चर्चित छन् । एजेन्सी